सप्तरी । बढ्दै गरेको चोरी, झै झगडालगायतको अपराधिक घटना न्यूनीकरण गर्न प्रहरीले गरेको विभिन्न अभियानसँगै घरेलु मदिरा नियन्त्रण तथा मदिरा भट्टी नष्ट गर्ने कामलाई पनि निरन्तरता दिएको छ ।
घरेलु मदिरा उत्पादनकर्तालाई जरिवानासहितको कारवाही गर्न थालेपछि यसको विक्रि बितरण तथा उत्पादनमा कमी आएको सुरक्षा अधिकारीहरुको भनाई छ ।
घरेलु मदिराका कारण घरेलु हिंसा, लुटपाट, दुर्घटना, चोरी, झै झगडा, बलात्कार, सामाजिक परिवारीक कलह लगायतका अपराधजन्य घटना बढेपछि घरेलु मदिरा नियन्त्रण अभियान कै रुपमा संचालन गरिएको प्रहरी उपरिक्षक कृष्ण प्रसाईको भनाई छ ।
समाजमा हुने अधिकांश अपराधिक घटना मदिाराजन्य पदार्थ सेवनकै कारण भएको पाइएको छ, उनले भने, ‘अपराधिक घटनाको अनुसन्धानबाट मूल कारण मदिरा भएको देखिएको छ ।’ घरेलु मदिरा सस्तो र सजिलै पाउने भएकाले यसको सेवनबाट मातिएकाहरुले अपराधिक घटना घटाएको पाइएको उनले बताए ।
यहाँका धेरै गाउँमा व्यवसायीक रुपमा घरेलु मदिरा उत्पादन हुने गरेको पाइएको छ । घरेलु मदिराले समाजमा नकारात्मक प्रभाव पार्नुका साथै राजश्व छलि बढेको छ उनले भने, ‘यसरी अवैध रुपमा घरेलु मदिारा उत्पादन गर्नेलाई अब कुनै छुट दिइन्न ।’
एक महिना यता राजविराज नगरपालिकाका विभिन्न वडाका साथै, बोदेबसाईन नगरपालिका, खडक नगरपालिका, अग्निसाईर कृष्णासवरण गाउँपालिका लगायतका स्थानमा रहेका दुई दर्जन भन्दा बढी मदिरा भट्टीबाट ५ हजार लिटर भन्दा बढी घरेलु तयारी मदिरा तथा कच्चा पदार्थ नष्ट गरिनुका साथै मदिरा बनाउन प्रयोग गरिने उपकरण तथा भाडाकुँडा ठूलो परिमाणमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।