वीरगञ्ज । प्रहरीले आठ लाखको अवैध मोबाइल फोन बरामद गरेको छ । रौतहट प्रहरीले मङ्गलवार साँझ चन्द्रनिगाहपुर गौर सडक खण्डमा चेकजाँचका क्रममा यात्रुवाहक बसको डिक्कीबाट अवैध रूपमा भन्सार छली गरेर ल्याउँदै गरेको मोबाइलहरू बरामद गरेको हो ।
इला प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले चन्द्रनिगाहपुर गौर सडक खण्डको चन्द्रपुर नगरपालिका – ५ तल्लोबजारमा सवारी चेकजाँच गर्ने क्रममा गौरतर्फबाट चन्द्रनिगाहपुरतर्फ आएको यात्रुवाहक बसको डिक्कीमा रहेको तिन ओटा बोरामा ल्याइँदै गरेको ३ सय ८७ थान मोबाइल बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) एलिजा गिरीले जानकारी दिइन् ।
आठ लाख अठार हजार नौ सय छ रुपैयाँ बराबरको मोबाइल आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा दाखिला गरिएको डिएसपी गिरीले बताइन | मोबाइलको विषयमा थप अनुसन्धान भइरहेको गिरीको भनाई छ ।