

पोखरिया । पर्साको पोखरिया नगरपालिका वडा नं. ९ स्थित विद्यालयलाई उपकार सेवा नेपालले नेजामुद्दीन शमानीको पहलमा २ थान पंखा तथा खाद्यान्न सामग्री सहयोग गरेको छ।
विद्यार्थीहरूको सहज अध्ययन तथा पठनपाठनका लागि वडा नं. ९ स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, शिवर्वालाई पंखा उपलब्ध गराइएको हो। साथै आर्थिक रूपमा विपन्न परिवारलाई खाद्यान्न सामग्रीसमेत हस्तान्तरण गरिएको छ।



सोमबार आयोजित कार्यक्रममा उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी, समाजसेवी मनोज पण्डित, कृष्ण पटेल तथा फरिन्दर गुप्ताको उपस्थितिमा पंखा तथा खाद्यान्न सामग्री हस्तान्तरण गरिएको थियो।
कार्यक्रमका समन्वयकर्ता तथा लायन्स क्लब अफ पोखरियाका अध्यक्ष नेजामुद्दीन शमानीले गर्मी मौसममा विद्यार्थीहरूले सहज, शान्त र अनुकूल वातावरणमा अध्ययन गर्न सकून् भन्ने उद्देश्यले विद्यालयलाई पंखा सहयोग गरिएको बताए।
“मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो” भन्ने भावनालाई आत्मसात् गर्दै शिक्षा तथा सामाजिक क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको उपकार सेवा नेपालले आगामी दिनमा पनि यस्ता सेवामूलक कार्यलाई निरन्तरता दिने जनाएको छ।


