बारा : सरकारी कागज किर्ते गरेको आरोपमा वडा सचिव पक्राउ परेका छन्। किर्ते जन्म दर्ता बनाएको अभियोगमा पचरौता नगरपालिका-४ र ५ का वडासचिव प्रभु पण्डितलाई बुधबार प्रहरीले पक्राउ गरेको हो। जबरजस्ती करणी उद्योग कसुरका अभियुक्तलाई फाइदा तथा पीडितलाई नोक्सानी पुर्याउने नियतले अभियुक्तको किर्ते जन्म दर्ता बनाएको प्रहरीले जनाएको छ।
पण्डितले जबरजस्ती करणी उद्योग कसुर मुद्दामा जिल्ला अदालत बाराको आदेशले हाल पुर्पक्षका लागि कारागार कार्यालय वीरगंजमा थुनामा रहेका व्यक्तिको किर्ते जन्मदर्ता बनाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। वीरगंज थुनामा रहेका पचरौता नगरपालिका-५ बस्ने सोहन भन्ने १८ वर्षीय जितेन्द्र महतो नुनियाको २०५८ सालमा जन्म भएकोमा २०६० सालमा जन्म भएको भनी वडासचिव पण्डितले किर्ते कागज तयार गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। पण्डित उपर लिखतसम्बन्धी कसूर मुद्दामा थप अनुसन्धान भइरहेको उक्त बारा प्रहरीको भनाइ छ।