वीरगञ्ज । मकवानपुरको मनहरी गाउँपालिकामा पर्सा राष्ट्रिय निकुञ्जबाट आएको जङ्गली हात्तीले श्रृङ्खलाबद्ध रुपमा वितण्डा मच्चाईरहेको छ । गत सोमबार राति मनहरी गाउँपालिका–८ को चिसापानीमा र वडा नं.७ को रमौलीमा एक घर/एक गोठमा क्षति पुर्याएको हात्तीले फेरी सिमपानीमा घरगोठ भत्काएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार साँझ हात्तीले स्थानीय टल्के चेपाङको जस्ता र ढुङगा माटोले बनेको एक तले घर पुर्ण र राम बहादुर तामाङको गोठमा आंशिक क्षति पुर्याएको हो । परिवारका सदस्यहरुलाई भने केही नभएको प्रहरीले जनाएको छ । यसअघि चेपाङ सिंह तामाङको भान्सा र घर भत्काएर ४ बोरा धान खाएको थियो भने ज्यान जोगाउन भाग्ने क्रममा दुई जना घाइते समेत भएका थिए ।
हात्तीलाई निकुञ्जतर्फ लखेटेपनि पुनःबस्ती क्षेत्रमा प्रवेश गरेर घरगोठसंगै स्थानीयले खेतबारीमा लगाएका अन्नबालीमा समेत क्षति गरेको स्थानीय पुस्कर सुवेदी बताउँछन् । ‘अधिकांश किसानहरुको बाली क्षति गरेको छ, धेरैथोरै बाँकी कसैको छोडेको छैन,’ उनले भने, ‘सबैभन्दा बढी आलु खेती नष्ट गरेको छ ।’ मनहरी बजारमा हात्ती पुगेपछि स्थानीय झनै त्रसित
हात्ती आइतबार साँझा ६ बजेको समयमा मनहरी बजार नजिकै देखिएको थियो । त्यसपछि इलाका प्रहरी कार्यालय महनरीका प्रहरीको टोली र स्थानीयहरु हात्तीलाई लखेटेका थिए । सोही हात्तीले सिमपानीमा गएर उपद्रो मच्चाएको हो । ‘हात्ती गाउँबस्ती हुँदै बजारसम्म चार्न थालेपछि मनहरीबासी त्रासमा छन्, रातमा राम्रोसंग सुत्न पाएका छैनन्,’ सुवेदीले भने,‘एक्लो दुग्लो हिड्दा पनि जनावरले ज्यान लिन्छ की भन्ने डर छ, यतिका ताण्डव हुँदा पनि ज्यान चाहिँ जोगिएको छ ।’
अतिआवश्यक बाहेक घर बाहिर निस्कन रोक
हात्तीको उच्च जोखिम रहेको गाउँबस्तीमा अतिआवश्यक बाहेक अन्य समयमा घर बाहिर निस्कन रोक लगाईएको मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिए । जिल्लाको सुरक्षा समितिको निर्णय अनुसार जोखिम क्षेत्रमा सुरक्षाकर्मी परिचान गरिएको र बढी क्षमता भएको बिजुली बत्ति जडान गर्ने काम भइरहेको उनले बताए । निकुञ्जले नम्बरी जग्गा नभएका पीडित परिवारलाई क्षतिपूर्ति नदिएपछि पालिकाले नै घरगोठ मर्मत गरिरहेको समेत जानकारी दिए । रेडियो कलर छ सुचना आउँदैन रेडियो कलर हात्ती कहाँ छ र के गर्दै छ भन्ने विषयमा निकुञ्जले सहज रूपमा निगरानी गर्न सक्ने यन्त्र हो । हात्तीमा रेडियो कलर जडान गरिएपनि निकुञ्जले सुचना नदिएको अध्यक्ष कालाखेतीले बताए । ‘निकुञ्जले निगरानी नगरेको हो की ? बस्तीमा आएर यत्रो वितण्डा मच्चाउँदा पनि थाहा हुँदैन, हामी एकदमै त्रासमा छौँ,’ उनले भने,‘हात्ती आउँछ, सुरक्षकर्मी साथीहरुसंग मिलेर छेक्नी, जंगल लखेट्नी, फेरी आउँछ, छेक्नी लखेट्नी, हाम्रो दोहोरी चलिराको छ ।’