काठमाडौं । प्याजको मूल्य क्रमशः घट्दै गएको छ । उपत्यकाको प्रमुख तरकारी बजार मानिने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्याजको मूल्य क्रमशः घट्दै गएको जानकारी दिएको हो ।
दसैंको मुखैबाट भारतले आन्तरिक माग पूरा गर्न नसकेको भन्दै नेपाल लगायतका छिमेकी देशमा प्याज आपूर्ति बन्द गरेसँगै बजारमा प्याजको अभाव हुनुका साथै अत्यधिक मूल्य वृद्धि भएको थियो । दसैंताका र मंसिरसम्म नै प्रतिकिलो २ सय ५० को हाराहारीमा रहेको प्याजको मूल्य पुस लागेसँगै घट्न थालेको छ ।
अर्कातिर भारतीय प्याजको आयात रोकिएसँगै नेपालीमा बजारमा चिनियाँ प्याज भित्रिन सुरु गरेको छ । तर, पल्छिल्लो समय बजारमा भारतीय प्याज समेत आउन सुरु गरेकोे कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जानकारी दिएको छ । समितिका अनुसार बुधबार कालीमाटी तरकारी बजारमा भारतीय सुकेको प्याजको अधिकतम खुद्रा मूल्य प्रतिकिलो २ सय ३० रुपैयाँ र चिनिया प्याजको अधिकतम खुद्रा मूल्य प्रतिकिलो २ सय रुपैयाँ थियो ।
तर, आज सो मूल्य घटेर भारतीय प्याजको अधिकतम खुद्रा मूल्य प्रतिकिलो २ सय र चिनियाँ प्याजको अधिकतम खुद्रा मूल्य प्रतिकिलो १ सय ७० रुपैयाँमा झरेको छ । बुधबारको तुलनामा बिहीबार भारतीय प्याजको अधिकतम खुद्रा मूल्य किलोमै १३.३३ प्रतिशत र चिनिया प्याजको मूल्य १५.३८ प्रतिशतले घटेको हो । त्यसैगरी, पुस १ गते र १० गते प्याजको मूल्य अवस्था हेर्दा पनि भारतीय प्याज चार दशमलब ८८ प्रतिशत र चिनिया प्याज १० दशमलब ८१ प्रतिशत मूल्य घटेको छ ।
यसैबीच समितिले २०७४ सालमा नेपाल लगायत छिमेकी मुलुकबाट २९ हजार ६ सय ७२ टन र २०७५ सालमा ३३ हजार २ सय ९६ टन प्याज आयात भएको बताएको छ । तथ्याङक हेर्दा गत वर्षमा दैनिक पाँच गाडी प्याज आयात भएको थियो । समितिका अनुसार एक गाडीमा २० टन हुन्छ । जस अनुसार दैनिक सय टन प्याज आयात भएको देखिन्छ ।
हाल कालीमाटीमा ८० देखि ९० टन प्याज आयात भइरहेको छ । प्याज निर्यातका लागि भारतले प्रतिबन्ध फुकुवा गरेको छैन, जसले गर्दा पछिल्लो समय अनौपचारिक बाटो हुँदै भारतीय प्याज समेत आयात हुन थालेको छ । यसैबीच भन्सार विभागले गत वर्ष ०७५–७६ मा ५ अर्ब २६ करोड ९६ लाख रुपैयाँको प्याज आयात भएको बताएको छ । सो वर्ष आयातित १६ करोड ७९ लाख किलो प्याजमध्ये ९५ प्रतिशत भारतबाट आएको थियो । त्यस्तै, आर्थिक वर्ष ०७४–७५ मा ४ अर्ब ६६ करोड ६६ लाख रुपैयाँको प्याज आयात भएको थियो ।