वीरगञ्ज । वीरगञ्जमा रहेको मानव सेवा आश्रमलाई आइतबार सवारी साधन हस्तान्तरण गरिएको छ । नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको प्रमुख आतिथ्ययतामा मानव सेवा आश्रमको सेवालाई थप सरल र सहज बनाउन नयाँ बोलेरो गाडी हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले मानव सेवा सकारात्मक तथा पुण्य कार्यमा थोरै भए पनि आफूले केही गर्न पाउँदा मन हर्षित भएको बताए । उनले मानव सेवाका लागि सम्पूर्ण जीवन नै समर्पित गरेका व्यक्तिहरूप्रति आभार समेत प्रकट गरे ।
यसअघिको कार्यक्रममा सहभागी हुँदा बखत मानव सेवा आश्रमलाई सहयोग गर्ने गरेको वाचा अनुरूप नै गाडी हस्तान्तरण गरिएको मन्त्री रिजालले बताए । राजनीतिक जीवनपछि आफूलाई मानव सेवा आश्रममा रहेकाहरू सेवामै लाग्न प्रेरित गरी रहने मानव सेवा आश्रमलाई साथ र सहकार्य गर्दै जाने पनि उनले बताए । गाडी हस्तान्तरणका लागि सहयोग गर्ने सबैलाई मन्त्री रिजालले धन्यवाद समेत ज्ञापन गरेका थिए ।
कार्यक्रममा उद्योगी, समाजसेवी एवम् मानव सेवा आश्रमअन्तर्गतको भौतिक विकास प्रवर्द्धन समितिका सदस्य गणेश लाठले मानव सेवा आश्रम निर्माणका लागि अहोरात्र लागि परेको र लागि रहने प्रतिबद्धता समेत व्यक्त गरे । उनले सडकमा रहेका मानवलाई पनि अन्य मानिस सरह बाच्न पाउने, बस्न पाउने, खान र जिउन पाउने अधिकार रहेकोले यसतर्फ सबैको हातेमालो हुन आवश्यक रहेको भन्दै सहयोग गर्न आग्रह गरे । कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सुन्दर मानव समाजको कल्पना गर्दै अगाडि बढेको मानव सेवा आश्रम र यहाँका व्यक्तिहरू जस्तै सबैलाई यस्ता सहयोगका अपेक्षितहरूलाई साथ दिने प्रेरणा मिल्ने कामना गरे ।
समाजमा अझ पनि आफ्ना बुवा आमालाई घरबाहिर निकालिदिने, अनावश्यक खर्च गर्ने तर घर नजिकैका छिमेकमा मानिसहरू भोकै छटपटाउँदा पनि बेवास्ता गर्ने गरेको दृश्य अझ हाम्रै समाजमा रहेको बताउँदै मानवता पटक्कै नभएको घटनाहरू तथा विकृतिहरू पनि उतिकै रहेकोले यसलाई सकारात्मक तवरले परिवर्तन गर्न आवश्यक रहेको पर्साका प्रमुख जिल्ला अधिकारी रेग्मीको धारणा थियो । वडा नम्बर २५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदीले कार्यक्रममा मानव सेवा आश्रमलाई आफूले सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग र सहकार्य गर्दै जाने र भवन निर्माणका लागि पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल अग्रवाल, पर्साका प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापा, फोरजिआर ग्रुपकी अध्यक्ष नुतन सरावगी, समाजसेवी सञ्जय अग्रवाल, मधेस विश्वविद्यालयका उपकुलपति प्रा.डा. दिपक शाक्य, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष हरी गौतम, समाजसेवी पशुपति विक्रम साह, उषा साह, पिया सिंह, ओम शान्ति वीरगञ्जकी प्रमुख रविना दीदी लगायतको उपस्थिति रहेको थियो ।
मानव सेवा आश्रमका प्रमुख संस्थापक एवम् केन्द्रीय अध्यक्ष रामजी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण मानव सेवा आश्रम परिवारका संयोजक दिपक शाक्यले गरेका थिए भने स्वागत मन्तव्य समाजसेवी प्रकाश थारुले व्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन मानव सेवा आश्रमका केन्द्रीय सदस्य दिवेश गुप्ताले गरेका थिए ।