

वीरगंज | दुबईबाट तेल अभिभका लागि उडेको फ्लाईदुबईको विमान बुधबार साउदी अरेबियातर्फ मोडिएपछि इजरायलले हवाई सुरक्षा सतर्कता बढाएको छ।
फ्लाईदुबईको उडान एफजेड १०७३ ले सुरुमा सामान्य आपतकालीन अवस्थाका लागि प्रयोग हुने स्क्वाक कोड ७७०० प्रसारण गरेको थियो। त्यसपछि केही समयका लागि ७५०० कोड प्रसारण भएको थियो। ७५०० कोड विमानमा गैर कानुनी हस्तक्षेप वा सम्भावित अपहरणको संकेतका रूपमा प्रयोग हुन्छ। तर यो कोड प्रसारण हुँदैमा विमानमा त्यस्तो घटना भएको पुष्टि भने हुँदैन।



बोइङ ७३७ म्याक्स ८ विमान साउदी अरेबियामाथि पुगेपछि बाटो परिवर्तन गरेर त्यतैतर्फ मोडिएको उडान विवरणले देखाएको छ। विमानमा १५० भन्दा बढी यात्रु रहेको बताइएको छ।
घटनापछि इजरायली वायुसेनाले लडाकु विमान परिचालन गरेको र प्रधानमन्त्री बेन्जामिन नेतान्याहू तथा रक्षामन्त्री इजरायल काट्जले सुरक्षा अधिकारीसँग तत्काल छलफल गरेको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।
विमानले किन बाटो परिवर्तन गर्यो र आपतकालीन कोड किन प्रसारण भयो भन्ने तत्काल स्पष्ट भएको छैन। सम्बन्धित अधिकारीहरूले विमान अवतरण भएपछि चालक दलसँग सोधपुछ र विमानको जाँच गरेपछि मात्र घटनाबारे यकिन गर्न सकिने बताएका छन्।
फ्लाईदुबईले भने घटनाबारे तत्काल सार्वजनिक प्रतिक्रिया दिएको थिएन।


