

वीरगंज | छैठौं राष्ट्रिय एक्यान फुटसल प्रतियोगिता–२०८३ को उपाधि एशोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (एक्यान) बाँकेले जितेको छ ।
एक्यान कास्कीको आयोजना भएको प्रतियोगितामा देशका विभिन्न स्थानबाट चार्टर्ड एकाउन्टेन्टस्हरूका १७ टिम सहभागी थिए । पोखरामा भएको प्रतियोगिताको उपाधि जित्दै एक्यान बाँकेले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।



सेन्ट्रल ११ प्रथम उपविजेता बन्दै एक लाख रुपैयाँ जितेको छ । आरबीपी मेमोरियल चितवन दोस्रो उपविजेता ५० हजार रुपैयाँ हात पारेको प्रतियोगिता संयोजक तथा एक्यान नेपालका उपाध्यक्ष अनिल लामिछानेले जानकारी दिए ।
व्यक्तिगत विधातर्फ एक्यान बाँकेका तुल्सी काफ्ले उत्कृष्ट गोलरक्षक र आरबीपी मेमोरियल चितवनका गौरव अधिकारी सर्वाधिक गोलकर्ता घोषित भए । दुवैले जनही ७ हजार ५०० नगद र अन्नपूर्ण केबलकारको टिकट प्राप्त गरे । साथै सेन्ट्रल ११ का स्वस्तिक कर्माचार्य प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै १० हजार नगद र द क्लिफको बन्जी वा स्विङको टिकट प्राप्त गर्न सफल भए ।
प्रतियोगितापछि मानवीय उत्तरदायित्वलाई पनि आत्मसात गर्दै बाढीबाट प्रभावित आफ्नै पेशागत साथीहरू मध्येका एक सदस्यलाई सहयोग गर्ने उद्देश्यले विजयी टोलीहरूले पाउने पुरस्कार रकमको २५ प्रतिशत तथा प्रतियोगिताबाट बचेको सम्पूर्ण रकम पीडित सदस्यको राहतका लागि प्रदान गर्ने घोषणा गरिएको लामिछानेले जानकारी दिए ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष आनन्दराज शर्मा वाग्ले र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका सभापति अनुप नेपालले प्रतियोगिताले देशभरका सिएहरुलाई जोड्ने काम गरेको बताए । उनीहरुले सिएहरुले व्यावसायिकलाई थप तिखार्दै अनुशासनलाई पनि कायम राखेर विभिन्न गतिविधि र मानवीय सेवामा जोडिनुपर्नेमा जोड दिए ।
एक्यान कास्कीका अध्यक्ष दीपक भुर्तेलले प्रतियोगिताले सिएहरुको फरक क्षमतालाई उजागर गरेको र यसले थप भाइचारा कायम गरेको बताए ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई खेल पर्यटनको हब बनाउन खोजिएको र देशभरका हरेक क्षेत्रका खेललाई यहाँ राख्न प्रत्सोहन गरिएको जिकिर गरे । प्रतियोगिता संयोजक लामिछानेले यो केवल प्रतिस्पर्धामा मात्र सीमित नरही सम्पूर्ण सीएहरूलाई एउटै मञ्चमा जोड्ने साझा अवसर भएको बताए ।


