

वीरगञ्ज । लालबाबु सिंह । बिन्दवासिनी गाउँपालिकाको सभा हलमा महिला नेतृत्व, जातीय विभेद तथा लैङ्गिक समानतासम्बन्धी समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ।
दलित महिला संघ (DMS) पर्साको आयोजना तथा Women Fund Asia को सहयोगमा सञ्चालित ‘महिला नेतृत्वका लागि अभियान परियोजना’ अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो।
बिन्दवासिनी गाउँपालिका उपाध्यक्ष ज्योति देवी चौरसियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जात, नारीवाद, लैङ्गिक समानता, अन्तरसम्बन्ध तथा स्थानीयस्तरमा महिलाले भोग्दै आएका समस्याहरू बारे समुदायस्तरीय छलफल गरिएको थियो।
कार्यक्रममा महिला तथा बालबालिका सेवा केन्द्रकी कौसल्या कुमारी, कुमारी बिन्दु देवी, दलित महिला संघ पर्साकी कोषाध्यक्ष संगीता दासलगायत स्थानीय दलित महिला, युवा तथा अगुवाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा दलित महिला संघका कार्यकारी निर्देशक नीला रामले प्रशिक्षण दिएका थिए। प्रशिक्षणमा ३७ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।
प्रशिक्षण तथा संवादका क्रममा जातीय विभेद, नारीवाद, लैङ्गिक समानता तथा यी विषयहरूबीचको अन्तरसम्बन्धका साथै स्थानीयस्तरमा महिलाले भोग्दै आएका विभिन्न समस्या र चुनौतीबारे विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ज्योति देवी चौरसियाले महिला सशक्त नभएसम्म समाज र देश बलियो हुन नसक्ने बताइन्। उनले समाजमा विद्यमान जातीय विभेद, लैङ्गिक असमानता तथा महिलामाथि हुने हिंसाको अन्त्यका लागि महिला नेतृत्वको विकास र सहभागिता आवश्यक रहेकोमा जोड दिइन्।


