
वीरगन्ज | बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म पटक–पटक जबरजस्ती करणी (बलात्कार ) गरेको कसूरमा १८ वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रौतहटको कटहरिया नगरपालिका–७ बगही घर भई हाल बाराको कलैया उपमहानगरपालिका–४ मा डेरा गरी बस्दै आएका २३ वर्षीय अफरोज अन्सारी रहेका छन् ।उनलाई बुधबार कलैया उपमहानगरपालिका–६ स्थित बजारबाट प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार अन्सारीले २०७८ माघ १० गते १२ वर्षीया बालिकालाई ललाईफकाई तथा डरत्रास देखाएर अपहरण गरेका थिए ।अपहरण गरी कलैया उपमहानगरपालिका–४ स्थित मैदामिल पछाडिको झाडीमा लगेर पहिलोपटक जबरजस्ती करणी गरेको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।त्यसपछि अन्सारीले बालिकालाई बसमा चढाएर काठमाडौंको वनस्थली पु¥याई कोठामा राखेको र त्यहाँ समेत पटक–पटक जबरजस्ती करणी गरेको प्रहरीको विवरणमा उल्लेख छ ।प्रहरीका अनुसार बालिकालाई करिब १० दिनसम्म बन्धक बनाएर राखिएको थियो ।
पीडित बालिकाका परिवारले दिएको जाहेरीका आधारमा प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको थियो ।अनुसन्धानका क्रममा प्रहरीले २०७८ माघ २० गते ती बालिकाको उद्धार गरेको थियो ।त्यसपछि अन्सारीविरुद्ध अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता भएको थियो ।
मुद्दाको सुनुवाइपछि उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले २०८२ पुस २४ गते अन्सारीलाई १८ वर्ष कैद सजाय सुनाएको थियो ।अदालतले अन्सारीलाई ६ लाख रुपैयाँ जरिवाना र पीडित राहत कोषमा २४ हजार रुपैयाँ जम्मा गर्नसमेत आदेश दिएको थियो ।
अदालतको फैसला कार्यान्वयनका क्रममा फरार रहेका अन्सारीलाई बुधबार पक्राउ गरी बारा जिल्ला अदालत कलैयामा पेस गरिएको प्रहरीले जनाएको छ ।अदालतको आदेशअनुसार उनलाई वीरगन्ज कारागारमा पठाइएको छ ।