
वीरगंज | करिब तीन दशकदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगमा पुनः उत्पादन सुरु भएको छ । उद्योगको पुनः सञ्चालनका लागि भइरहेको मर्मत तथा परीक्षण उत्पादनको शनिबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी यादवले स्थलगत निरीक्षण गरेकी छन् ।
शनिबार उद्योग पुगेकी मन्त्री यादवले मेसिन मर्मत, परीक्षण उत्पादन तथा उद्योग सञ्चालनको अवस्थाबारे नेपाली सेनाका प्राविधिक टोलीसँग जानकारी लिइन् । सो क्रममा उनले लामो समयदेखि बन्द रहेको उद्योग पुनः सञ्चालनको चरणमा पुग्नु उत्साहजनक भएको बताउँदै सरकारले उद्योगलाई क्रमशः पूर्ण क्षमतामा सञ्चालन गर्ने लक्ष्य लिएको बताइन् ।
उद्योगको पुनः सञ्चालनको जिम्मेवारी सरकारले नेपाली सेनालाई दिएपछि मर्मत तथा उत्पादनको काम तीव्र पारिएको छ । हाल उद्योगका १० वटा लुम सञ्चालनमा छन् । थप चारवटा लुम उत्पादनका लागि तयारी अवस्थामा रहेको नेपाली सेनाले जनाएको छ । सञ्चालनमा रहेका १० लुममध्ये तीनवटालाई आधुनिक अटोमेटिक प्रणालीमा रूपान्तरण गरिएको छ ।
बाँकी मेसिनको मर्मत तथा स्तरोन्नतिको काम भइरहेको छ । प्राविधिकका अनुसार मर्मत सम्पन्न भएपछि थप मेसिन सञ्चालनमा ल्याइनेछ । सम्भव भएसम्म पुराना मेसिनलाई समेत अटोमेटिक प्रणालीमा रूपान्तरण गरिनेछ ।
उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाको उत्पादन निर्देशनालयका करिब ४० जना प्राविधिक तथा विभिन्न दर्जाका सैनिक खटिएका छन् । उनीहरूले पुराना उपकरणको मर्मत, परीक्षण उत्पादन र उत्पादन प्रणालीलाई व्यवस्थित बनाउने काम गरिरहेका छन् ।
निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री यादवले करिब ३० वर्षपछि उद्योगबाट पुनः कपडा उत्पादन सुरु हुनु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरिन् ।
“लामो समयदेखि बन्द रहेको उद्योगबाट फेरि कपडा उत्पादन हुन थालेको देख्दा निकै खुसी लागेको छ,” उनले भनिन्, “अब क्रमिक रूपमा सबै मेसिन मर्मत गर्दै उत्पादन क्षमता विस्तार गरिनेछ । सरकारले उद्योगलाई छिट्टै पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने अठोट गरेको छ ।”
मन्त्री यादवले उद्योगमा रहेका कुल ४८८ वटा मेसिनलाई क्रमशः सञ्चालनमा ल्याउने बताइन् । विगतमा ठूलो रकम प्रशासनिक काममै खर्च भएको उल्लेख गर्दै उनले अहिले सीमित लगानीबाटै मेसिन सञ्चालनमा ल्याउन सफल भएको दाबी गरिन् ।
“विगतमा नौ करोड रुपैयाँ खर्च हुँदा पनि प्रशासनिक काममै सकियो । अहिले हामीले ३३ लाख रुपैयाँको लगानीमा २० वटा मेसिन तयार पारेका छौँ,” उनले भनिन् “यसलाई कतिपयले स्टन्टबाजी भन्न सक्छन् । तर, हामीले काम गरेर देखाएका छौँ । यसको मूल्यांकन जनताले गर्नेछन् ।”
उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न आवश्यक कच्चा पदार्थको व्यवस्थापनमा समेत सरकारले ध्यान दिएको मन्त्री यादवले बताइन् ।
केही दिनअघि कपडा उद्योगका लागि आवश्यक कपास खेती विस्तार गर्न किसानलाई गरिएको आह्वान स्मरण गराउँदै उनले स्वदेशमै कच्चा पदार्थ उत्पादन बढाउनुपर्नेमा जोड दिइन् ।
“जनताको साथ र सहकार्य प्राप्त भयो भने हेटौँडा कपडा उद्योग मात्र होइन, देशभर बन्द अवस्थामा रहेका अन्य सरकारी उद्योगहरू पनि पुनः सञ्चालन गर्न सकिन्छ,” उनले भनिन् ।
कुनै समय नेपालकै प्रमुख सरकारी औद्योगिक प्रतिष्ठानमध्ये रहेको हेटौँडा कपडा उद्योगले सुती धागो, कोरा, रंगीन तथा बुट्टेदार कपडाका साथै नेपाली सेनाका लागि आवश्यक कपडासमेत उत्पादन गर्दै आएको थियो । उद्योग सञ्चालनमा रहँदा करिब एक हजार २०० जनाले प्रत्यक्ष रोजगारी पाएका थिए ।
तर, राजनीतिक अस्थिरता, व्यवस्थापकीय कमजोरी, निरन्तरको घाटा तथा बन्द–हडताललगायत कारण उद्योग २०५७ सालमा बन्द भएको थियो ।
