
वीरगंज | धनुषामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको एकडारा नगरपालिका–१ बस्ने रविन्द्र महतोकी २३ वर्षीया पत्नी पुनिताकुमारी महतो रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी मधुसुधन न्यौपानेका अनुसार पुनिता जनकपुरधाम उपमहानगरपालिका–१७ तेतरियास्थित भिनाजु सन्देश महतोको घरमा आएका बेला घटना भएको हो ।
बिहान करिब ११ बजे मोटरको स्विच थिच्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएकी पुनितालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको थियो ।
अस्पताल पुर्याएपछि चिकित्सकले जाँच गर्दा दिउँसो करिब १२ बजे उनलाई मृत घोषणा गरेको डीएसपी न्यौपानेले जानकारी दिए ।
मृतकको शव हाल प्रादेशिक अस्पताल जनकपुरधाममै राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
