
वीरगंज | इरानले आफ्ना लडाकु जहाजका तीन जना पाइलट कतारको हिरासतमा रहेको दाबी गरेको छ।
सशस्त्र बलको जनरल स्टाफअन्तर्गत बेपत्ता व्यक्तिहरूको खोजीसम्बन्धी समितिले यस्तो दाबी गर्दै उनीहरूको अवस्थाबारे स्पष्ट पार्न सहयोग गर्न अन्तर्राष्ट्रिय रेडक्रस समिति आईसीआरसीलाई अपिल समेत गरेको छ।
इरानी सञ्चारमाध्यमका अनुसार, ब्रिगेडियर जनरल मोहम्मद बाकर्जादेहले आईसीआरसीकी अध्यक्ष मिरियाना स्पोल्यारिकलाई लेखेको पत्रमा दुईवटा सुखोई–२४ लडाकु विमानलाई २ मार्च २०२६ मा कतारमा रहेको एउटा शत्रु सैन्य अड्डालाई लक्षित गर्ने अभियानमा पठाइएको बताए। उनका अनुसार अभियान पूरा गरेर फर्कने क्रममा विमानहरूले शत्रुको सामना गर्नुपरेको थियो, जसका कारण चार जना इरानी पाइलट प्रभावित भएका थिए।
यी चार पाइलटमध्ये एक, माजिद काजेमीको शव पछि इरान लगिसकिएको छ। बाँकी तीन पाइलट—जवाद सालेही, अब्दुलमजीद दश्तियान र इमरान बहरूशियान—लाई कतारको सेनाले जीवितै पक्राउ परेको ब्रिगेडियर जनरल बाकर्जादेहको दाबी छ।
कतारले भने इरानको यो दाबीलाई अस्वीकार गरेको छ। कतारको विदेश मन्त्रालयका प्रवक्ता माजिद अल–अन्सारीले यस समयमा यस्ता भ्रामक बयान आएका आफूहरूका लागि निकै आश्चर्यजनक भएको बताए। उनले एक पाइलटको शव फेला परेको र उक्त शव इरानलाई हस्तान्तरण गर्न कतार सरकारले तेहरानसँग सम्पर्कसमेत गरेको समेत बताएका छन्। यसैबीच कतारको परराष्ट्र मन्त्रालयले इरानी युद्धविमानका पाइलटहरूलाई हिरासतमा राखिएको भन्ने तेहरानको दाबीलाई पूर्ण रूपमा खण्डन गरेको छ।
शनिबार सामाजिक सञ्जाल एक्समा एक वक्तव्य जारी गर्दै कतारी परराष्ट्र मन्त्रालयका प्रवक्ता माजिद अल-अन्सारीले इरानी अधिकारीहरूबाट आएको यो दाबीलाई “भ्रामक” भन्दै कतारी सेनाको नियन्त्रणमा कुनै पनि जीवित इरानी पाइलट नरहेको स्पष्ट पारेका छन्।
