वीरगंज । नेपालले कतारसँग बुढीगण्डकी जलविद्युत आयोजनालगायतका जलविद्युत आयोजना, पूर्वाधार तथा पर्यटन क्षेत्रमा लगानी र सहुलियतपूर्ण ऋण लगानीको लागी अनुरोध गर्ने भएको छ । कतारका अमिर (राजा) शेख तमिम बिन अमद अल थानीको नेपाल भ्रमणको क्रममा नेपालले लगानीका लागी अनुरोध गर्ने भएको हो । शनिबार नेपाली कांग्रेसले आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस फर्केपछि कतारको राजा नेपाल आउने बताएका हुन् । कतारसँग नेपालले सन् १९७७ मा दौत्य सम्बन्ध कायम गरेपनि हालसम्म उच्चस्तरीय अधिकारीहरु नेपाल भ्रमणमा आएका थिएनन् । नेपाली युवाहरुको रोजगारीको प्रमुख गन्तव्य बनेको कतारबाट पहिलोपटक उच्चस्तरीय अधिकारीको नेपाल भ्रमण हुने भएको छ । सन् २०१३ देखि कतारको अमिरको रुपमा शासन गरिरहेका शेख तमिमको नेतृत्वमा कतारले निकै ठूलो फड्को मारेको बताइन्छ ।
परराष्ट्र मन्त्रालयका अनुसार नेपालको लागी वैदेशिक रोजगारीदेखि वैदेशिक ब्यापारसम्म पनि ठूलो हिस्सा ओगट्ने कतारका अमिर (राजा) शेख तमिम बिन अमद अल थानीको कात्तिक २० गते दुई दिने नेपाल भ्रमण हुने भनिएकोमा एक साता सरेको छ । तर राष्ट्रपति रामचन्द्र पौडेलसँग कतारी अमिरको भेट निश्चित भै सकेको छ भने उनले अन्य विशिष्ट ब्यक्तिहरुसँग पनि भेट्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उक्त भेट द्धिपक्षीय ब्यापार तथा लगानी प्रबद्र्धनमा केन्द्रीत रहने जनाइएको छ । कतारले नेपाल सरकार समक्ष बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माणको जिम्मा दिन प्रस्ताव गरेको कारण अमिरको भ्रमणमा यसबारे छलफल हुने पनि जनाइएको छ । १२ सय मेगावटको जलाशय युक्त बुढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनी गेजुवालाई निर्माणको जिम्मा दिइएको भएपनि पछि सरकार आफैँले बनाउने भन्दै गत २०७९ भदौमा फिर्ता लिएको थियो । वैदेशिक रोजगारीमा ठूलो योगदान पुर्याएको कतारसँग नेपालले सन् २००५ मा श्रम सम्झौता गरेको थियो । श्रम सम्झौता गरेसँगै बतार जाने युवाहरुको संख्या उच्च छ ।
वार्षिक लाखौंको संख्यामा कतारमा नेपालीहरु रोजगारीका लागि गएका सरकारी तथ्याङ्कले देखाउँछ । नेपालबाट आर्थिक वर्ष २०७९/८० मा नयाँ तथा पुनः श्रम स्वीकृति लिई कतारमा १ लाख ३३ हजार २६२ जना पुगेका छन् । त्यस्तै, आव २०७८/७९ मा १ लाख ८४ हजार ९२६ जना कतार पुगेका थिए भने आव २०७७/७८ मा कोरोनाले गर्दा ५४ हजार ९१७ जना मात्र कतार पुगेका थिए । त्यसैगरी, आव २०७६/७७ मा ८१ हजार ५७८ जना, आव २०७५/७६ मा १ लाख ६१ हजार २१५ जना, आव २०७४/७५ मा १ लाख ५६ हजार ३२८ जना नेपाली युवा कतार पुगेका थिए । नेपालीहरुको वैदेशिक रोजगारीमा प्रमुख गन्तव्य बनेको कतारको रेमिट्यान्समा पनि ठूलो योगदान छ । नेपाल राष्ट्र बैंकअनुसार आव २०७३/७४ मा ६ खर्ब ९५ अर्ब ४५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा सबैभन्दा बढी कतारबाट विप्रेषण आप्रवाह भएको थियो । उक्त आर्थिक वर्ष कतारबाट मात्रै १ खर्ब ४ अर्ब १३ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो । यो कुल रेमिट्यान्सको १५ प्रतिशत हो । साथै, सन् २०१९/२० को ४ महिनाको अवधिमा ३ खर्ब ४ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । सो अवधिमा सबैभन्दा बढी कतारबाट रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।
राष्ट्र बैंकअनुसार सन् २०१९/२० को चार महिनाको अवधिमा ५३ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । जुन कुल रेमिट्यान्सको १७.७ प्रतिशत हिस्सा हो । वैदेशिक रोजगारीसँगै नेपालले वार्षिक अर्बौ रुपैयाँको वैदेशिक व्यापार पनि कतारसँग गर्दै आएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष मात्रै नेपालले कतारसँग १३ अर्ब ४१ करोड ७६ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियो । जसमा नेपालले १३ अर्ब ३० करोड ६९ लाख रुपैयाँको वस्तु आयात गरेको थियो भने ११ करोड ६ लाख रुपैयाँको वस्तु नेपालबाट निर्यात गरेको थियो । नेपालले गत वर्ष १३ अर्ब १९ करोड ६२ लाख रुपैयाँ व्यापारघाटा व्यहोरेको छ । नेपालले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा कतारसँग ५१ करोड ९० लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ । जसमा नेपालले ४७ करोड १० लाख रुपैयाँको वस्तु आयात गरेको छ भने ४ करोड ८० लाख रुपैयाँको वस्तु निर्यात गरेको छ । नेपालले उक्त अवधिमा ४२ करोड ३० लाख रुपैयाँको वैदेशिक व्यापारघाटा कतारसँग व्यहोरेको छ ।
नेपालले कतारबाट विशेषगरी चकलेट, पेट्रोलियम बिटुमेन, रेयर ग्यासेस, अन्य युरिया, स्याम्पो, ब्यूटि प्रोडक्ट, कच्चा पोलिथिन, ह्यान्डब्याग, तयारी पोसाक, फुटवेयर, सुन, आइरन स्टिल, घरायसी सामग्री, विद्युतीय सामग्री, स्मार्टफोन, हेकडफोन, टेलिभिजन र अन्य विभिन्न सामग्री आयात गर्दै आएको छ । त्यसैगरी, नेपालबाट कुरिलो, क्याप्सिगम, अदुवा, पास्ता, च्यावनप्रास, कार्पेट, सल, मफ्लर, झोला र स्पोर्टस् वेयर निर्यात गर्दै आएको छ । गैर आवासीय नेपाली संघका अध्यक्ष आर के शर्माका अनुसार कतारको विकासमा नेपालीहरुले ठूलो भूमिका निर्वाह गरेका छन् । शर्मा कतारमा निर्माणसम्बन्धि ब्यवासायमा संलग्न छन् । त्यसैले शर्माका अनुसार कतारका अमिरको भ्रमणको क्रममा नेपाल सरकारले कतारबाट वैदेशिक रोजगारीबाट फर्केका नेपालीहरुलाई उनीहरुले सिकेको सिप र ज्ञानलाई उद्यमशिलतामा लग्नको लागि भेन्चर क्यापिटल कम्पनी कतारी लगानीमा स्थापना गर्नको लागि पहल गर्नु राम्रो हुन्छ । कम्तीमा पनि १० अर्ब रुपैयाँ लगानीमा भेन्चर क्यापिटल स्थापना भएमा कतारमा काम गरेर सिप र ज्ञान सिकेका नेपालीले नेपालमा उद्यमशिलता बढाउन सक्ने शर्माको विचार छ ।
यसैगरि, कतारलाई चाहिएका दक्ष कामदारको लागि कतारकै लगानीमा नेपालमा तालिम केन्द्र खोल्न पहल गर्न सकिने उनको भनाइ छ । कतार एयरलाइन्सलाई सम्भव भएसम्म पोखरा र भैरहवा नभए ती दुवै मध्ये कुनै एक विमानस्थलमा आफ्नो नियमित उडानको लागि विशेष अनुरोध गर्न पनि उनले सरकारलाई अनुरोध गरेका छन् । नेपालमा लगानी बढाउने उद्देश्यले कतार र नेपालबीच दोहोरो कर नलाग्ने सम्झौता (डीटीए) भइसकेको छ भने द्विपक्षीय लगानी प्रवद्र्धन सम्झौता (बीप्पा) गर्न पनि कतार उत्सुक रहेको छ । दुइ वर्ष अगाडि नै नेपालमा लगानी बढाउने उद्देश्यले कतारको ठूलो मानिएको दोहा बैंकको नेपालमा सम्पर्क कार्यालय खुलिसकेको छ ।त्यसैले शर्माका अनुसार नेपाल सरकारले कतारको अमिरको भ्रमणमा अल्पकालीन र दीर्घकालीन योजना बनाएर लगानीका प्रस्तावहरु अगाडि सार्न सक्दछ ।