
वीरगंज | राष्ट्रिय गौरवको आयोजना बुुटवल–नारायणगढ सडकको निर्माण ९५ प्रतिशत सम्पन्न भएको छ । आयोजनाका अनुसार चौथो पटक म्याद थपिएको छ भने सडकको निर्माण अन्तिम चरणमा पुगेको छ ।
सडकको ११३ किलोमिटर सम्पन्न हुन थालेपछि राजमार्गको यात्रा सहज बन्दै गएको छ । २०७५ सालदेखि निर्माण सुरु गरिएको सडकलाई दुई खण्डमा बाँडेर अन्तिम चरणको काम भएको पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताउनुभयो । सडक पूर्वी खण्ड ६५ किलोमिटर र पश्चिम खण्ड ४८ किलोमिटर रहेको छ । सडकको म्याद पूर्वी खण्डमा साउन ८ र पश्चिम खण्डमा साउन ५ गते सकिएको छ । खनालका अनुसार पूर्वी खण्डको भौतिक प्रगति हालसम्म ९७ प्रतिशत पुगेको छ भने पश्चिमी खण्डको ९६.५ प्रतिशत रहेको र वित्तीय प्रगति पूर्वी खण्डमा ९४ प्रतिशत र पश्चिमी खण्डमा ९२ प्रतिशत पुगेको छ ।
हालसम्म सडकको ६५ किलोमिटर कालोपत्रे भएको छ भने दाउन्नेको उकालोमा चार किलोमिटर सडक ढलाइ सम्पन्न भएको छ भने २२ वटा साना र १२ वटा ठुला पुल सबै निर्माण भएका छन् । बाँकी रहेका बजारक्षेत्रका कावासोती, दलदले, गैँडाकोट अरुणखोला, चोरमारालगायतका क्षेत्रमा सर्भिस लेन, रङरोगन, सडक सुरक्षाको काम भइरहेको छ र सडकमा डिभाइडरको काम अन्तिम चरणमा पुगेको दाबी खनालले गर्नुभयो । त्यस्तै पश्चिमी खण्डका सूचना अधिकारी इन्जिनियर विकास खनालले पश्चिम खण्डमा पर्ने ४८ किलोमिटर सडकको काम सम्पन्न भएको बताउनुभयो । यो खण्डमा नौ वटा ठुला पुल र २१ वटा साना पुल सम्पन्न भई सञ्चालनमा आएको छ ।
यात्रुलाई सधैँ सास्ती दिने दाउन्नेको उकालो पूर्वी खण्डभन्दा पश्चिमी खण्डमा धेरै भएकाले यहाँ पनि ढलाइको काम सम्पन्न भएको खनालको भनाइ छ ।
पश्चिमी खण्डका सडकमा सर्भिस लेनका काम धमाधम भइरहेका छन् भने बुटवल, भुमही, बर्दघाटमा यो अन्तिम चरणमा पुगेको छ । डिभाइडरको काम पनि करिब सम्पन्न हुन लागेको छ भने दाउन्ने उकालोमा हरित कार्य अन्तर्गत बिरुवा रोपेर उमार्ने काम पनि सकिएको खनालले बताउनुभयो । दाउन्ने खण्डमा पनि धुलो हटाएर राजमार्गलाई सहज पारिएको छ । एसियाली राजमार्गको मापदण्डमा विस्तार भइरहेको यो सडकको कुल लागत बजेट १६ अर्ब ९९ करोड रुपियाँ रहेको छ ।
