
माेरङ | सुनसरीको देवानगन्ज गाउँपालिकास्थित कप्तानगन्ज गोलीकाण्डमा मृत्यु भएका रविन्द्र मेहताको बुधबार अन्त्येष्टि गरिँदै छ। साउन १० गते राति कप्तानगन्जमा भएको गोलीकाण्डमा गंभीर घाइते भएका मेहताको साउन १९ गते उपचारका क्रममा काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो।
त्यसपछि पीडित परिवार र सरकारबीच सोमबार राति ७ बुँदे सहमति बनेपछि हेलिकप्टरमार्फत बुधबार दिउँसो मेहताको शव कप्तानगन्ज ल्याइएको हो। उनको शवलाई सम्मानका साथ नगर परिक्रमा गराउँदै घटना भएको स्थानमै अन्त्येष्टि गरिने भएको हो ।
नगर परिक्रमापछि हाल घटना भएको स्थल कप्तानगन्जको चौकमा शव राखिएको उनले बताए । उनका अनुसार अब केहीसमयपछि विधिपूर्वक उनको अन्त्येष्टि गरिनेछ ।
यसअघि, सोही स्थानमा गोलीकाण्डमा मृत्यु भएका जयप्रकाश मेहता र ओमप्रकाश मेहताको पनि अन्त्येष्टि गरिएको थियो । गोली काण्डमा गंभीर घाइते भएका रविन्द्रलाई विराटनगरको न्यूरो अस्पतालबाट थप उपचारका काठमाडौं लगिएको थियो।
स्थानीय विवेक मेहताका अनुसार विहान करिब साढे १० बजे हेलिकप्टरबाट शव ल्याएपछि, हरिनगर गाँउपालिका हुदैं, देवानगञ्ज गाँउपालिका परिक्रमा गराइएको थियो ।घरको एक्लो छोरा मेहताको आमाबुवा, दुई दिदी र एक बहिनी रहेकाछन् । सुनसरीमा भएको गोलीकाण्डमा ३ जनाको मृत्यु भएको छ । त्यसपछि भड्किएको हिंसामा सिराहको गोलबजारमा गणेश यादवको पनि गोली लागि मृत्यु भएको थियो।
