
वीरगंज | वीरगन्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरबाट प्रहरीले स्रोत नखुलेको ५३ लाख ५० हजार रुपैयाँ नगदसहित चार जनालाई पक्राउ गरेको छ।
गाेप्य सुचनाकाे आधारमा खटिएको प्रहरी टाेलीले साेमबार साँझ ६:३० बजे आदर्शनगरमा प्रदेश २–०३–००३ प ७२१५ नम्बरको कालो सुपर स्प्लेन्डर र ना.५७ प ५१८२ नम्बरको निलो एफजेड मोटरसाइकललाई रोकेर खानतलासी गर्दा माेटरसाइकलमा सवार चार जना व्याक्तिहरुकाे साथबाट उक्त रकम बरामद गरेकोे हो।
पक्राउ पर्नेहरूमा भारतकाे बिहार राज्यको सीतामढी जिल्लाकाे डुमरा थाना–६ बस्ने २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका–१ प्रसौनी बस्ने ३२ वर्षीय उपेन्द्र साह, त्यही ठाउँका २६ वर्षीय सागरकुमार सर्राफ र पर्साको विन्दवासिनी गाउँपालिका–१ झौवागुठी बस्ने २५ वर्षीय राहुल कुमार गुप्ता रहेका छन्।
सुरज कर्णको साथबाट १ लाख रुपैयाँ, उपेन्द्र साहको साथबाट १८ लाख १६ हजार रुपैयाँ, सागर कुमार सर्राफको साथबाट १८ लाख ३४ हजार रुपैयाँ र राहुल कुमार गुप्ताको साथबाट १६ लाख रुपैयाँ नगद फेला परेको प्रहरीले जनाएको छ।
बरामद नोटहरूमा नेपाली १ हजार दरका ४ हजार ५ थान नोट (४० लाख ५ हजार), ५ सय दरका २ हजार ३ सय ५३ थान नोट (११ लाख ७६ हजार ५ सय), १ सय दरका ६ सय ४३ थान नोट (६४ हजार ३ सय) र ५० दरका ८४ थान नोट (४ हजार २ सय रुपैयाँ) रहेका छन्।
बरामद नगद र दुवै मोटरसाइकलसहित नियन्त्रणमा लिइएका चारै जनामाथि आवश्यक कारबाहीका लागि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
