
वीरगंज | नेता शशांक कोइरालाको किर्ते हस्ताक्षरसहित राष्ट्रिय भेला स्थगितको सूचना प्रकाशित भएको भन्दै कांग्रेस संस्थापनइतरले आपत्ति जनाएको छ ।
साउन २९ देखि ३१ सम्म आयोजित भेला अर्को सूचना नआउँदासम्मका लागि स्थगित भएको ब्यहोरासहित नेता कोइरालाको हस्ताक्षरमा विज्ञप्ति सार्वजनिक भएको छ । नेता मीन विश्वकर्माले भेला स्थगितको फर्जी विज्ञप्ति जारी भएको भन्दै आपत्ति जनाएका हुन् । कांग्रेसको आधिकारिकता सम्बन्धमा अदालतबाट मुद्दाको पुनरावलोकन आदेशपछि हतास मानसिकतामा संस्थापन पक्षबाट यस्तो गतिविधि भएको आरोप नेता विश्वकर्माको छ ।
“अदालतबाट मुद्दाको पुनरावलोकन गर्ने आदेश आइसकेपछि डराएको हतास मनस्थितिको उपजको रूपमा कार्यक्रमबारे जथाभाबी लेखेर संयोजकको किर्ते हस्ताक्षर गरी तथाकथित, नक्कली, किर्ते विज्ञप्ति जारी गरेको पाइएकोले गम्भीर आपत्ति व्यक्त गर्दै त्यस्ता गतिविधि कसैले नगर्न नगराउन सचेत गराउँदछौँ,” विज्ञप्तिमा भनिएको छ ।
नेपाली कांग्रेसका संस्थापनइतर पक्षले राष्ट्रिय भेला यही साउन २९ देखि ३१ गते काठमाडौंमा हुने बताएको छ । भेला स्थगितबारे कुनै पनि भ्रममा नपर्न नेता विश्वकर्माले आग्रह गरेका छन् ।
