वीरगंज । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली कात्तिक १८ गते वीरगञ्ज आउनुहुने भएको छ । मधेश प्रदेशको नव निर्वाचित पदाधिकारी तथा सदस्यलाई शपथग्रहण गराउन उहाँ वीरगञ्ज आउनलाग्नु भएको हो । नेकपा एमालेको प्रथम मधेश प्रदेश अधिवेशनबाट निर्वाचित कमिटीलाई कात्तिक १८ गते वीरगञ्जमा शपथग्रहण गराउने कार्यक्रम तय भएको छ ।
पार्टीको मधेश प्रदेश अधिवेशन भने जनकपुरमा भएको थियो । असोज २४ देखि २७ गतेसम्म चलेको प्रथम अधिवेशनले चन्देश्वर मण्डलको अध्यक्षतामा पाँच पदाधिकारी सहित २ सय ३५ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको थियो ।
नवनिर्वाचित कमिटीलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले शपथ गराउने कार्यक्रम रहेको छ । सो कार्यक्रमको व्यवस्थापन नेकपा एमाले पर्सा जिल्ला कमिटीले गर्ने भएको छ ।