सरकारले रोटा भाइरसविरुद्धको खोप वैशाखबाट सञ्चालनमा ल्याउने
वीरगंज संजाल
८ पुष २०७६, मंगलवार ०६:३५
४५२५
काठमाडौं । सरकारले आगामी वैशाखदेखि रोटा भाइरसविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । गत आर्थिक वर्षमै सुरु हुने भनेको उक्त खोप उत्पादन कम्पनीले उपलब्ध गराउन नसक्दा एक वर्ष ढिला भएको तर आगामी वैशाखबाट भने सञ्चालनमा ल्याउने तयारी भएको स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको,बाल स्वास्थ्य तथा खोप सेवा शाखाले जनाएको छ ।
सरकारले नियमित रूपमा ११ वटा खोप निःशुल्क दिँदै आएकोमा आगामी बैशाखदेखि रोटा भाइरसविरुद्धको खोप थप्न लागेको स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको, बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. झलक शर्मा गौतमले बताए ।
“हाल नेपालमा पाँच वर्षमुनिका बालबालिकामध्ये करिब ५० प्रतिशतलाई झाडापखाला हुने गरेको र जसमध्ये करिब ३० प्रतिशतमा रोटा भाइरसको संक्रमणका कारण हुने गरेको देखिन्छ,” उनले भने, “सरकारले उक्त खोप (ग्लोबल एलाइन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन) गाभीको सहयोगमा खरिद गर्न लागेको थियो । यो खोप सरकारले बालबालिकालाई निःशुल्क लगाउने तयारी रहेको छ ।”
पाँच वर्षमुनिका बालबालिकालाई झाडापखालाविरुद्ध दिइने सो भ्याक्सिन नेपालमा पहिलो पटक सञ्चालनमा ल्याउन लागिएको हो । सो खोप शिशुलाई जन्मेको ६ हप्ता र १० हप्तामा दिइने गरिन्छ ।
बालरोग विशेषज्ञहरुका अनुसार यो खोप लगाएमा पाँच वर्ष मुनिका बालबालिकामा हुने झाडापखालाको दरलाई घटाउन सकिने बताउँछन् । सरकारले निशुल्क ११ खोपमा क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस बी, हेमोफिलस इन्फ्ल्यूएञ्जा बी, पोलियो, दादुरा-रुबेला, निमोनिया र जापानिज इन्सेफलाइटिस) विरुद्ध को खोप तथा गर्भवती महिलाहरुका लागि टीडी दिँदै आएको खोप अधिकृत भरत भण्डारीले बताए ।
विश्व स्वास्थ्य संगठनले बालबालिकाको लागि २४ खोपलाई सुचिकृत गरे पनि नेपालमा एघार खोप मात्र हालसम्म सञ्चालनमा छन् । संगठनको सन् २०१३ को तथ्यांक अनुसार विश्वमा दुई लाख १५ हजार पाँच वर्ष मुनिका बालबालिकाहरुको रोटा भाइरसका कारण मृत्यु गरेको जनाएको थियो । विकसित देशहरुमा पनि रोटा भाइरसको संक्रमण देखिने गरेको छ । तर, ती देशका बालबालिकामा सामान्य समस्या देखिने बित्तिकै तुरुन्त अस्पताल लैजाने गरिएको छ । तर,अविकसित देशका बालबालिकालाई सामान्य समस्या हुँदा घरमै उपचार गर्ने गरिएकाले बढि प्रभावित हुने गरेको संगठनको तथ्यांकमा उल्लेख छ ।
के हो रोटा भाइरस ?
पाँच वर्ष मुनिका बालबालिकामा झाडापखाला गराउने प्रमुख कारण रोटा भाइरस हो । नेपालमा झाडापखालाका कारण अस्पताल भर्ना भएका ५ वर्षमुनिका बालबालिकामध्ये ३३ प्रतिशत रोटा भाइरसका कारण प्रभावित हुने गरेको बाल रोग विशेषज्ञहरु बताउँछन् । जाडो मौसममा रोटा भाइरस बढी सक्रिय हुने बाल रोग विशेषज्ञ डा. गणेश राई बताउँछन् ।
“बालबालिकाहरूमा हुने झाडा बान्ता तथा झाडापखला चलाउने विभिन्न भाइरसमध्ये ८० प्रतिशत हिस्सा रोटा भाइरसकै कारण हुने हुन्छ”,उनले भने “खासगरी ५ वर्षमुनिका बालबालिकामा बढी समस्या निम्त्याएको देखिन्छ । अझ एक वर्षमुनिका बालबालिकामा यो भाइरस संक्रमणको जोखिम उच्च सम्भावना हुन्छ ।”
विश्वमा नै बाल मृत्युदरको प्रमुख कारण मध्येमा झाडापखाला पनि पर्ने गरेको छ । यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने गरेको हुदाँ यसको असर देखिएमा बालबालिकाहरुमा पातलो चौलानी पानीजस्तो पखाला हुने र त्यस्तो भएमा तुरुन्तै अस्पताल लग्नुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुन बताउँछन् ।
“झाडापखाला सामान्य त हो भनेर घरमै राखेर उपचार गर्दा अधिकांश बालबालिकालाई ढीलो मात्रै अस्पताल लग्ने गरिएको छ,”उनले भने, “यो सरुवा रोग हो र एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै र छिटो सर्ने हुदाँ रोटा भाइरस संक्रमितको दिसामा यो भाइरस अत्यधिक मात्रामा पाइन्छ । यदि त्यो दिसा कुनै माध्यमबाट मुखमा पुगेमा त्यो व्यक्ति पनि संक्रमित हुन्छ ।”
उनले लगातार पानीजस्तो पातलो दिसा लाग्नु, पेट दुख्नु, बान्ता हुनु, मन्द गतिको ज्वरो आउनु, बालबालिकाले झिँझिने स्वाभाव देखाउनु, पेट दुखेर रुनु, खानमा यस रोगको प्रमुख लक्षण रहेको बताए ।
“पाँच वर्षसम्मका बालबालिकालाई सफासुग्घर राख्ने र जे पायो त्यही मुखमा हाल्न नदिने, हात धोएर मात्र बच्चालाई खाना खुवाउने, रोटा भाइरसविरुद्धको खोप लगाउने, पानी उमालेर मात्र पानी पिलाउने आदि गरेमा यसबाट बचाउन सकिनेछ,” उनले भने । पानीजस्तो लगातार पातलो दिसासँगै बान्ता हुने र पेट दुख्ने लक्षण देखिएमा तुरुन्तै अस्पताल र स्वास्थ्यचौकीमा लगेर स्लाइन पानी दिनुपर्ने चिकित्सकहरु बताउँछन् ।