भारत जान लागेका २० बालबालिकाकाे नेपालगञ्ज नाकाबाट उद्धार
वीरगंज संजाल
६ पुष २०७६, आईतवार १३:२२
४६१३
नेपालगञ्ज । अभिभावकलाई भेट्न भारत जान लागेको बताउने २० जना बालबालिकालाई नेपालगञ्जस्थित सीमामा रोकी सम्बन्धित अभिभावक र आफन्तलाई जिम्मा लगाइएको छ ।
सिविन बाल हेल्पलाइन नेपालगञ्जका प्रमुख सिद्धराज पनेरुले प्रशासनको रोहबरमा बालबालिकालाई अभिभावकको आफन्तको जिम्मा लगाएको बताए । उनले भने, “यसरी असुरक्षित यात्राले बालबालिका जोखिममा पर्ने सम्भावना रहन्छ ।
” उनका अनुसार बेवारिसे अवस्थामा रहेका बालबालिकाको प्रहरी, बालबालिकाका क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी कार्यालयको सहयोगमा उद्धार गरिएको हाे ।
हिउँद लागेपछि जाडो छल्न उनीहरु भारतको गोरखपुर कामका लागि जान लागेका थिए । सीमा नाकाबाट उद्धार गरी नेपालगञ्जस्थित सिविन बाल हेल्पलाइनमा ल्याइएका उनीहरूले गोरखपुर जान लागेको बताएका थिए ।
जमुनाहा इलाका चौकी कार्यालयका माधव रिजालले धेरै बालबालिका भारत जान लागेको भेटिएपछि शङ्का लागेर रोकिएको उनले बताए ।
सीमामा पहाडी जिल्लामा स्कुल बिदाको समयमा बालबालिकाको जोखिम यात्रा बढ्ने गरेका बेलामा गत आर्थिक वर्षमा ५२ बालबालिकालाई उद्धार गरिएको छ । सिविन बाल हेल्पलाइन नेपालगञ्जमा एक वर्षको अवधिमा बाँकेमा ५२ बालबालिका बेवारिसे अवस्थामा फेला परेका छन् ।
आर्थिक वर्ष २०७५/७६ मा ४२ बालक र १० बालिका गरी ५२ जना बेवारिसे अवस्थामा फेला परेका हुन् । आव २०७४/७५ मा जम्मा १० जना बालबालिका बेवारिसे अवस्थामा फेला परेका थिए । news24