वीरगन्ज । मध्य तराईमा केही दिनदेखि बढेको चिसोले शीतलहर सुरु भएको छ । शीतलहर सुरु भएपछि पर्साका ६ हजार ७७१ जना अति विपन्न ब्यक्तिलाई कसरी जोगाउने भन्नेमा स्थानीय प्रशासन चिन्तित छ । पर्सा जिल्लामा संकलित तथ्याँक अनुसार १ हजार ६२१ घरधुरीका ६ हजार ७७१ जना अति विपन्न छन् ।
बाहिरबाट जिल्लामा काम बिशेषले आउने, बटुवा लगायतका जिल्लाका नागरिकले चीसोकै कारण ज्यान गुमाउन नपरोस् भनेर जिल्ला प्रशासन कार्यालयको अगुवाईमा विभिन्न उपायहरु अपनाउन सुरु गरिएको छ । न्यानो कपडा किन्ने हैषियत नभएका र सुरक्षित वासको अभावमा बाँचेका अति विपन्नको वारेमा प्रशासन चिन्तिन भएको पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए ।
जिल्ला प्रशसान कार्यालय पर्साको अगुवाईमा गएको मंसिर २७ गते जिल्लाका सबै सरोकारवाला निकायका जिम्मेवार व्यक्तिहरुको उपस्थितिमा शीतलहरका समयमा सर्वसाधारणलाई बचाउन के–के गर्न सकिन्छ ? भनी सुभाव संकलन गर्ने, पूर्व तयारीका लागि इन्धन, न्यानो कपडा जोगाड गर्ने गरेका थिए । त्यस्तै इन्धन बाल्दा हुन सक्ने आगलागी र अन्य विपत्का घटनाहरुमा आवश्यक पर्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र एम्बुलेन्सलाई तयारी अवस्थामा राख्न पनि कार्य विभाजन गरिएको छ । यसको लागि ६ बुँदे निर्णय सहित विभिन्न सामाजिक संघ संस्थासँग पनि समन्वय गर्ने तयारी भइसकेको जिल्ला प्रशासन कार्यालय, पर्साले जनाएको छ ।
न्यानो कपडाको जोगाडका लागि स्थानीय तह, रेडक्रस, उद्योग बाणिज्य संघलाई जिम्मेवारी दिइएको छ । त्यसै गरी कृषि उत्पादनमा शीतलहरले पार्ने सक्ने असर र त्यसको संरक्षण, रेखदेख तथा क्षतिको निरुपणका लागि कृषि ज्ञान केन्द्र, स्थानीय तह लगायतका संस्थाहरुलाई तयारी रहन भनिएको छ ।
जिल्ला भरीमा संकलित न्यानो कपडाले अपुग हुने ठहर गरी संघ सरकारसँग ३ हजार र प्रदेश सरकारसँग १ हजार ५०० कम्बल तथा न्यानो कपडाको माग गर्ने समेत बैठकले निर्णय गरिसकेको पनि पर्साका प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए ।
केही दिनदेखि बढेको चीसो र शीतलहरले जिल्लाको जनजीवन निकै कष्टकर बन्न थालेपछि चीसोको कारण बिरामीको संख्या पनि बढेको अस्पतालहरुले जनाएका छन् । चीसोमा बालबालिका, बृद्धबृद्धा र विरामीको बढि ख्याल गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ । न्यानो कपडा लगाउन, तातो र झोलिलो खानेकुरा खान, घर बाहिर खासै ननिस्कन र सकेसम्म सुरक्षित रहन पनि चिकित्सकहरुले सुझाब दिएका छन् ।