सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिएको आरोपमा वडाध्यक्ष पक्राउ
वीरगंज संजाल
४ पुष २०७६, शुक्रबार १४:०७
४४७३
काठमाडौं | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिएको आरोपमा नवलपरासीको रामग्राम नगरपालिका-१८ का वडाध्यक्ष गोपाल डिस्वा मगरलाई नियन्त्रणमा लिएको छ ।
सेवाग्राहीको नाता प्रमाणित, घर/गोठ बाटो प्रमाणित तथा औषधि उपचारको सिफारिस गरिदिने प्रयोजनका लागि लेखनदास रविन्द्रप्रसाद यादवसँगको मिलेमतोमा २ लाख रुपैयाँ घुस लिएको आरोपमा वडाध्यक्ष मगरलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
सेवाग्राहीले दिएको २ लाख रुपैयाँको रसिद माग गर्दा नदिएपछि वडाध्यक्ष मगरविरुद्ध परेको उजुरीको आधारमा उनीसहित लेखनदास यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
वडाध्यक्ष डिस्वा मगरलाई रामग्राम नगरपालिका-१८ स्थित होली चाइल्ड स्कुल नजिकबाट र लेखनदास यादवलाई मालपोत कार्यालय नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) जाने बाटोबाट बिहीबार नियन्त्रणमा लिएको उनले बताए । Nepalpostdaily