निजीक्षेत्रको विरोध भएको भीसीटीएसमा ६४ हजार प्रयोगकर्ता !
वीरगंज संजाल
४ पुष २०७६, शुक्रबार ०९:१३
३८७७
काठमाडौं । सर्वत्र विरोध भएको भइकल एन्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस)मा उल्लेख्य सहभागिता रहेको पाइएको छ । राजस्व अनुसन्धान विभागले कार्यान्वयनमा आएको पाँच महिनामा ६४ हजारभन्दा बढी प्रयोगकर्ता रहेको बताएको हो ।
व्यवसायीले भीसीटी प्रयोगमा रहेको जटिलताका कारण आफूहरु प्रयोग गर्न असमर्थ रहेको बताइरहँदा विभागले गरेको दाबी मिल्दोजुल्दो देखिँदैन ।
विभागले भने यो प्रणालीको विकास र कार्यान्वयनमा निजी क्षेत्रको असाध्यै सकारात्मक सहयोग रहेको दाबी गरेको छ । विभागको दाबीअनुसार हालसम्म ६४ हजारभन्दा बढी प्रयोगकर्ता बनिसकेका छन् भने दैनिक १६ हजार कन्साइनमेन्ट प्रणालीमा प्रविष्ट भइरहेको छ ।
विभागले राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रणमा भएका नविनतम कार्यअन्तर्गत भीसीटीएसमा उल्लेख्य सफलता हासिल गरेको दाबी गरेको हो ।
राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रणको कार्यलाई प्रभावकारी बनाउन स्वस्थ, व्यवसायिक प्रतिस्पर्धा कायम गरि अनौपचारिक आर्थिक कारोबारलाई औपचारिक तर्फ जान दबाब सिर्जना गर्न स्वेच्छिक कर सहभागिता बढाई कराधारलाई विस्तार गर्न, डिजिटल नेपालको अवधारणालाई सहयोग पु¥याउन, आर्थिक सुशासन प्रवद्धन गर्न भीसीटीएसको व्यवस्था गरेको जनाएको छ ।
सूचना र प्रविधिको प्रयोग गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐनको दफा १३(ग) मा २०७१ सालबाटै भएको व्यवस्था र २०७६–७७को बजेटमा व्यवस्था भए अनुसार व्यवसायिक प्रयोजनका मालवस्तु तथा ढुवानीका साधनको अनुगमन प्रणाली (भीसीटीएस) तयार गरी २०७६ साउन १ गतेबाट लागु गरिएको छ ।
विभागले यो प्रणाली सुरु गर्नुभन्दा पहिला निजी क्षेत्रसँग नेपाल राज्य भरी ५० भन्दा बढी अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको दाबी गरेको छ ।
यस्तै उक्त मालवस्तु तथा ढुवानीका साधनको अनुगमन प्रणालीको प्रभावकारी कार्यान्वयन गर्नको लागि विभाग तथा जिल्ला स्थित कार्यालयबाट विभिन्न टोली बनाइ चौबिसैघण्टा छडके अनुगमनको लागि विभिन्न स्थानमा टोली खटाइएको विभागको दाबी छ ।