काठमाडौं । संसदको पाँचौं अधिवेशन आजबाट शुरु हुँदैछ । आज दिउँसो ४ बजेका लागि बैठक तोकिएको छ ।
चौथो अधिवशेन गएको असोजको पहिलो साता सम्पन्न भएको थियो । यसपालिको अधिवेशनमा सभामुख नभएकाले उपसभामुखले नै संविधानको धारा ९१ को उपधारा (४) बमोजिम बैठक सञ्चालन गर्ने अहिलेसम्मको तयारी रहेको छ । यद्यपि कार्यव्यवस्था समितिको बैठक आजै बसेर यसबारेमा थप तय गरिने संसद् सचिवालय स्रोतले बताएको छ ।
सभामुख कृष्णबहादुर महराले यौन काण्डमा मुछिएका कारण चौथो अधिवेशन सकिएको करिब १० दिनपछि पदबाट राजीनामा दिएपछि सो पद खाली रहँदै आएको छ ।
आज बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभामा दलगत प्रतिनिधित्वको आधारमा विभिन्न नेताहरुले मन्तव्य राख्ने, राष्ट्रपतिको कार्यालयबाट प्रेषित मन्त्रिमण्डल पुनर्गठन सम्बन्धी सूचना वाचन गर्ने र यस बीचमा मृत्यु भएका विभिन्न पूर्वसांसदहरुको सन्दर्भमा शोक प्रस्ताव पारित गर्ने कार्यक्रम रहेको जनाइएको छ । पाँचौ अधिवेशले सभामुखको निर्वाचन,यस अघि देखि विचाराधिन विभिन्न विधेयक टुंगो लगाउनुका साथै नयाँ विधेयकमा पनि छलफल र अन्य प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ ।