वीरगञ्ज | चिनियाँ प्रवधि कम्पनी शाओमी भारतमा सबैभन्दा बढी स्मार्टफोन विक्री गर्ने कम्पनी हो । पछिल्ला केही वर्षमा भारतीय स्मार्टफोन बजारमा शाओमीको हिस्सा ह्वात्तै बढेको छ ।
शाओमीले २ साताअघि भारतमा ‘फ्ल्याश सेल’मा राखेको नयाँ मोडलको रेडमी नोट ८ अनलाइनमा १५ मिनेटभित्र बिकिसकेको थियो । यसले पनि त्यहाँ शाओमीको व्यापार कति महत्त्वपूर्ण छ भन्ने पुष्टि गर्छ ।
प्रविधि पत्रकार माला भर्गाभा शुरूमा अनलाइनमा रजिस्टर गरेर फ्ल्याश सेलमा आँखा दौडाउने जो कोही आकर्षित हुने बताउँछिन् । शाओमीले अन्य अफलाइन स्टोरबाट पनि मोबाइल विक्री गर्दै आएको छ । तर ती सबै मोडल शुरूमा अनलाइनमा विक्री गरिन्छ । उक्त मोडलको आधाभन्दा बढी व्यापार अनलाइनबाटै हुने गर्छ ।
अनलाइन समुदायलाई यो ब्रान्डले आफूमा यसरी तान्नु आश्चर्यजनक रहेको दूरसञ्चार प्रविधि कम्पनी कन्जर्भेन्स क्याटलिस्टका जयन्त कोला बताउँछन् । शाओमीको प्रवेश भारतमा सन् २०१५ मा भएको हो । कम्पनीले आफ्नो लगानी भौतिक संरचनामा भन्दा पनि अनलाइन व्यापार विस्तारका लागि गर्यो । कोलाका अनुसार शाओमीले आप्mनो वितरण खर्च थोरैमा व्यवस्थापन गर्यो र सस्तो स्मार्टफोन अनलाइनबाट विक्री गर्न थाल्यो । अनलाइनमा उसले गरेको उल्लेख्य लगानीले अहिले भारतको समग्र स्मार्टफोनको व्यापारमै सुधार आएको उनको ठम्याइ छ ।
तीव्रगतिमा विस्तार भइरहेको भारतीय स्मार्टफोनको बजारमा चिनियाँ कम्पनीले अहिले आधाभन्दा बढी हिस्सा ओगटेका छन् । अहिले भारतमा स्मार्टफोन प्रयोगकर्ता ४५ करोड छन् । भारतको स्मार्टफोनको बजार पनि करीब ८ अर्ब डलर पुगिसकेको छ । शाओमीलाई भारतमा ‘गरीबको आईफोन’ पनि भनिन्छ, जसको कारण भारतीय बजारमा उसको २८ प्रतिशत हिस्सा छ । सन् २०१६ मा भारतीय बजारमा शाओमीको हिस्सा ३ प्रतिशत मात्र थियो । ‘कम्पनीले आईफोनजस्तै देखिने फोन ल्याउन शुरू गर्यो,’ भार्गभा भन्छिन्, ‘कम्पनीको पहिलो चरणका स्मार्टफोन एप्पलका उत्पादनसँग मिल्दोजुल्दो थिए, जस कारण कम्पनीको आलोचना पनि हुने गरेको थियो ।’
आईफोनजस्तै देखिएको कारण मात्र भारतीय बजारमा शाओमीका स्मार्टफोन बिकेका भने होइनन् । कम्पनीले भारतीयलाई मन पर्ने किसिमको फिचर्स र हार्डवेयर पनि निर्माण गर्यो । त्यसले पनि ग्राहकलाई आकर्षित गर्यो । उदाहरणका लागि शाओमीले आफ्नो रेडमी सिरिजको फोनमा ६४ मेगापिक्सेलको क्यामेरा प्रयोग गरेको छ । त्यसको मूल्य पनि १० हजारदेखि १८ हजार भारूसम्म तोकिएको छ । मूल्यको हिसाबले पनि यो स्मार्टफोन धेरैले खरीद गर्न सक्छन् । आईफोनजस्तै देखिने तर मूल्यको हिसाबले एक तिहाइ पनि नपर्ने भएकाले धेरै ग्राहकहरू शाओमीका स्मार्टफोनमा आकर्षित भएका हुन् ।
‘सबै मानिस आईफोन होस् भन्ने चाहन्छन् । तर आईफोन किन्न सक्ने हैसियत नहुँदासम्म उनीहरूले त्यस्तै देखिने स्मार्टफोनमा चित्त बुझाउँछन्,’ कोला भन्छन् । उनको कम्पनीले गरेको एक अनुसन्धानले भारतीय प्रयोगकर्ताले आफ्नो आम्दानी बढेसँगै एप्पल वा सामसङको फोन चाहने गरेको गरेको देखाएको छ । भारतीय स्मार्टफोन प्रयोगकर्ता मूल्यका हिसाबले सस्तो तर राम्रो फिचर्स भएका फोन खोज्छन्, जसकारण त्यहाँको बजारमा यस्ता उत्पादनको मूल्यले बढी महत्त्व राख्ने कोलाको बुझाइ छ ।
फोरजी क्षमताको अभावसँगै भारतीय स्मार्टफोन निर्माता बजारबाट हराएकाले अन्य कम्पनीजस्तै शाओमीले पनि त्यहाँको बजारमा स्थान पाएको हो । काउटर प्वइन्ट रिसर्चका प्रविधि विश्लेषक नेइल शाह कुनै समय भारतीय स्मार्टफोनको बजारमा माइक्रोम्याक्सजस्ता भारतीय कम्पनीको हिस्सा सबैभन्दा बढी रहेको भए पनि भारतमा फोरजी आएपछि सन् २०१६ र २०१७ मा स्मार्टफोन बजारमा उल्लेख्य परिवर्तन आएको बताउँछन् । भारतीय स्मार्टफोन बजारमा प्रतिस्पर्धा भने बढ्दो छ । बजारमा सामसङको हिस्सा २५ प्रतिशत छ । यो हिस्सा शाओमीको तुलनामा ३ प्रतिशत अंकले कम हो । रियलमीजस्ता नयाँ चिनियाँ कम्पनी पनि भारतीय बजारमा लोकप्रिय बन्दै गएका छन् । (एजेन्सीको सहयोगमा)