विरगंज । “ह्या पछि गरौँला !” भन्दै काम टार्ने बानी सबैमा सामान्य भइसकेको छ । तर कतिपय अवस्थामा यसले गम्भीर रुप लिन सक्छ र हाम्रो स्वास्थ्यका लागि समेत हानिकारक हुने बताइएको छ । किनकी निश्चित समयभित्र सक्काउनुपर्ने काम अन्तिममा गर्दा धेरै तनाव हुन्छ ।
यसरी काम जति जरुरी भएपनि त्यसका लागि पर्याप्त समय छ भन्दै हामी अनेकौँ बाहानामा अल्झिँदै यसलाई पन्छाइरहेका हुन्छौँ । जस्तै काम सुरु गर्नु अगाडि वा सुरु गरिसकेपछि बारम्बार फोन चलाउने, सामाजिक संजाल चेक गर्ने लगायतका काममा हाम्रो ध्यान बढी जान्छ । तरपनि निश्चित समय सिमामा बुझाउनुपर्ने काम हामीले हतार र तनावमा भएपनि पूरा गर्नैपर्ने हुन्छ । यसरी कामलाई टार्ने बानी त सबैमा हुन्छ तर हामीले हरेक काममा त्यसैगरी ढिला गर्ने बानी पार्यौँ भने चाहिँ त्यसको परिणाम भयानक हुन सक्छ । त्यसैले मनोवैज्ञानिक अनुसन्धानपछि यस्तो बानी विकास गर्नबाट जोगिन र कामप्रति बढी प्रेरित रहन नयाँ उपायहरु खोजि गरिएको छ ।
जस्तै पहिले त आफ्नो आन्तरिक शक्ति र क्षमतामा मात्र भर पर्ने गर्नु हुँदैन । लब्रग युनिभर्सिटीका स्पोर्टका मनोविश्लेषक, इआन टेलरका अनुसार मान्छेहरु प्रायः “परेपछि जसरी नि गर्न सकिन्छ” भन्ने कुरामा विश्वास गर्छन् । यसबीच कुनै अवस्थामा हामी अन्त्यमा आफ्नो लक्ष्यसम्म पुग्यौँ भने हामी सधैँ त्यही तरिका अपनाउन थाल्छौँ । यसले हामीमा समय हुँदा जरुरी काम पनि बेवास्ता गर्ने बानी विकसित गराउँछ ।
त्यसैगरी दोस्रो तरिका भनेको हामीले भोलि, पर्सि भन्दै छाडेको कामका सकारात्मक पक्षप्रति बढी ध्यान दिने । किनकी धेरै अवस्थामा हामीले असफल हुने वा डरका कारण पनि कामहरु पछिलाई साँचेर राखिरहेका हुन्छौँ । युनिभर्सिटी अफ सिलफिल्डकी फुस्चिया सिरोइसका अनुसार हामीले अल्छिपना र समय अव्यवस्थापनका कारण मात्र काम पन्छाइरहेका हुदैनौँ । वास्तवमा यसमा हाम्रो भावनालाई नियमित राख्न कठिनाइ भइरहेकाले पनि हामी ढिलो गरिरहेका हुन्छौँ । जस्तै हामीलाई आफूले राम्रो गर्दिन भन्ने लागेको छ भने हामी असफलता पछिको चिन्ताबाट टाढा रहन काम स्थगित गर्ने गर्छौँ । यसले अस्थायी रुपमा हामीलाई सहज महसुस गराउन सक्छ । तर त्यसैका कारण अब हामीसँग काम पूरा गर्न थोरै समय बाँकी हुन्छ जसले असफलताको सम्भावना झन बढाइदिन्छ र हामीलाई काम सुरु गर्नु अगाडि नै चिन्तित र हतोत्साहित बनाइदिन्छ । त्यसैले यसको सामना गर्न हामीले सो कामका सकारात्मक पक्षमा बढी ध्यान दिनुपर्छ । यसरी काम गर्दाको प्रक्रिया भन्दा त्यसले हाम्रो भविष्यमा ल्याउन सक्ने खुसीका क्षणबारे सोचेमा हामी छिटो सक्काउन प्रेरित हुन सक्छौँ ।
अर्को उपाय भनेको हामीले पछिको समस्या विरुद्ध अहिले नै मनोवैज्ञानिक योजना बनाइराख्ने । जस्तै हामीलाई बिदाको दिन पढ्नुछ तर त्यसैदिन साथीले भेट्न बोलाउन सक्छ भने उसलाई दिउँसो नभएर बुलुकातिर बोलाउने भनेर पहिले नै साचेर राख्ने । अमेरिकी मनोविश्लेषक पिटर गोलिविट्जरले यो रणनीति अपनाएकाहरुको ९४ वटा अध्ययन समीक्षा गरिसकेपछि यसले हामीमा आफ्नो लक्ष्य समयमै पूरा गर्ने सम्भावना २–३ गुणाले बढाउने गरेको पत्ता लगाएका हुन् ।
त्यस्तै कामको सुरुवातमै कठिनाइको सामना गर्नु पर्यो भने पनि हामीमा त्यो काम पछिलाई राख्ने चाहाना बढ्छ । यस्तोमा हामीले सकेसम्म सजिलो प्रक्रियाबाट सुरु गरेर सम्भवत काम घटाउने प्रयास गर्न सक्छौँ । जस्तै हामीलाई बिहानै उठेर दौडिनुछ भने हामीले दौडिदा लगाउने कपडा राति नै तयारी अवस्थामा अगाडि राख्न सक्छौँ र सधैँ वरपरबाट सबै विकर्षणलाई टाढा राख्नुपर्छ ।
कर्नेल युनिभर्सिटीकी केटलिन वुलीले सञ्चालन गरेको नयाँ अनुसन्धानका अनुसार हामीले काम गर्नासाथै त्यसको फल पाउने भयौँ भने, हामी धेरै मिहिनेत गर्न प्रेरित हुन्छौँ । त्यसैले हामीले पनि आफूले सो काम गरेवापद् तुरुन्तै आफूलाई पुरस्कृत गर्ने कुरा खोज्न सक्छौँ । जस्तै एक्सरसाइज गर्न आउनेहरुलाई अडियो किताब सुनाउने गर्दा उनीहरु किताबमा के भयो होला भनेर सुन्न भएपनि समयमै जिम आउने गरेको पाइएको हो । यसरी हामीले सो काम पूरा गरिसकेपछि साथीसँग घुम्न जाने वा केही खाने वा कुनै फिल्म हेर्ने भनेर पनि आफूलाई काम सकाउन प्रेरित गर्न सक्छौँ ।
अधिकांशलाई आफूसँग धेरै समय बाँकी छ जस्तो लाग्ने गर्दछ । र पछि काम गर्दा हामीसँग धेरै ऊर्जा हुन्छ र व्यवस्थित हुन्छौँ भन्ने भान हुन्छ । यसैकारण हामीले काम पूरा गर्न लाग्ने समयको कम मूल्याङ्कन गरिरहेका हुन्छौँ । यसलाई ‘प्लानिङ फ्यालेसी’ पनि भनिन्छ । यसको सबैभन्दा प्रमुख उदाहरण हो सन् १८६० मा पहिलोपटक अक्सफोर्डको शब्दकोश निर्माण गर्न दुई वर्ष लाग्नेछ भनिएको थियो । तर १८७९ मा सुरु गर्दा पाँच वर्षमा उनीहरु केबल ‘एन्ट’ अर्थात लेटर ‘ए’ मै थिए र १९२८ मा मात्र त्यो सकिएको थियो । तर त्यतिबेलासम्म यसको फेरि रिभिजन गर्ने बेला भइसकेको थियो । त्यसैले हामीले सधैँ अव्यवहारिक रुपमा भविष्यवाणी गर्नुहुँदैन । नत्र हामी अझ ढिलो र निराश हुनेछौँ ।
कतिपय अवस्थामा हामी काम गरिरहेको हुनुपर्नेमा दिनभर अनलाइन बसिरहेका हुन्छौँ । अनुसन्धानका अनुसार त्यस्ता मानिसहरुले आफूमाथि कठोर व्यवहार गर्ने गर्छन् । परीक्षाका लागि पढ्नुको सट्टा समय खेर फालेर बसेका विद्यार्थीहरुमा गरिएको एउटा अनुसन्धानमा आफूले गलती गरेको मानेर आफूलाई माफ गर्ने विद्यार्थीमा अर्कोपटक समयमै रिभाइज गर्ने सम्भावना बढी हुने गरेको पाइएको हो । तर अर्कोतर्फ जसमा “अब ढिलो भइसक्यो, म पक्का पनि अब पास हुन सक्दिन” लगायतका नकारात्मक भाव हुन्छ तिनीहरुले पहिले नै आफ्नो पढाइप्रति नराम्रो महसुस गरि हरेस् खाने गरेको पाइएको हो । सिर्लोसका अनुसार जति हामी आफूप्रति कठोर हुन्छौँ त्यति आफ्नो साथीमा हुदैनौँ । जस्तै हामीले उनीहरु ढिला हुँदा, “किन यति ढिला गरेको, तिमी किन यस्तो भएको” भनेर गाली गर्दैनौँ , उल्टै ठिकै छ अब सुरु गर्दा नि हुन्छ भनेर सम्झाउछौँ र समर्थन गर्छौँ । हामीले त्यस्तै व्यवहार आफूप्रति पनि गर्नुपर्ने उनको भनाइ छ ।
२००८ को अमेरिकी राष्ट्रपति चुनाव अगाडि क्यालिफोर्नियामा एउटा अनुसन्धान सञ्चालन गरिएको थियो जसमा भोट गर्न आउनेलाई दुई थरीको प्रश्न गरिएको थियो – “तपाईँलाई भोट गर्दा कस्तो लाग्यो ?” र अर्को “तपाईँलाई मतदाता भएकामा कस्तो महसुस भएको छ ?” यसपछि मत हाल्दा भन्दा मतदाता हुँदा मानिसहरु बढी खुसी भएको पाइएको हो । त्यसैले हामीले पनि आफ्नो लक्ष्य पूरा गर्दैगर्दा आफूलाई खेलाडीका रुपमा लिनुपर्छ र यत्तिकै दौडिरहेको जस्तो मात्र ठान्नु हुँदैन । जस्तै हामी डायटमा छौँ भने त्यसलाई स्वस्थ खाना मात्र सेवन गरिरहेको भन्न सकिन्छ । यसरी हाम्रो भाषा र बोलाइ र आफूप्रतिको धारणाले पनि व्यवहारमा धेरै परिवर्तन ल्याउन सक्छ ।