

वीरगंज | प्रहरीविरुद्ध सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा गलत समाचार र सन्देश प्रवाह भएको विषयमा प्रधानमन्त्री कार्यालयले चासो देखाएपछि पत्रकारलाई साइबर ब्युरोमा बोलाइएको नेपाल प्रहरीले स्पष्टीकरण दिएको छ।
नेपाल प्रहरीले राति विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री कार्यालयबाट व्यक्त चासो सम्बोधन गर्ने क्रममा केही सञ्चारकर्मीलाई साइबर ब्युरोमा बोलाइएको जनाएको हो।



यसअघि प्रहरीले नयाँ पत्रिका दैनिकको कार्यालयमा साढे दुई घण्टासम्म घेराउ गर्दै पत्रकार पक्राउ गर्ने प्रयास गरेको थियो। सोही क्रममा केही पत्रकारलाई नियन्त्रणमा लिएर पछि रिहा गरिएको थियो।
उक्त घटनाबारे प्रधानमन्त्रीको सचिवालय र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अनभिज्ञता प्रकट गरेका थिए। तर प्रहरीले राति जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री कार्यालयकै चासोका आधारमा आफूहरू परिचालित भएको उल्लेख गरेको छ।
प्रहरीका अनुसार पछिल्लो समय सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा प्रहरी संगठनविरुद्ध गलत समाचार र सन्देश निरन्तर प्रवाह भइरहेको विषयमा प्रधानमन्त्री कार्यालयले चासो व्यक्त गरेको थियो।
यस्ता प्रचारले प्रहरीको व्यावसायिकता, सर्वसाधारणको विश्वास, सरकार र प्रहरी संगठनबीचको सम्बन्ध तथा अनुसन्धान प्रक्रियामा नकारात्मक असर पार्न सक्ने विषय प्रधानमन्त्री कार्यालयबाट उठाइएको प्रहरीको दाबी छ।
सोही चासोलाई सम्बोधन गर्ने क्रममा साइबर ब्युरोले केही सञ्चारकर्मीलाई कार्यालयमा बोलाएर प्रहरीविरुद्ध भइरहेका प्रचारको सत्यता, तथ्यपरकता र कानुनी आधारबारे सामान्य जानकारी लिएको विज्ञप्तिमा उल्लेख छ।
पत्रकारलाई बोलाउने कार्यलाई नियमित कार्यसम्पादनअन्तर्गतको कदम भन्दै प्रहरीले यसको उद्देश्य प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्नु नभएको स्पष्ट पारेको छ।
‘त्यस्ता प्रचारबाजीको सत्यता, तथ्यपरकता र कानुनी आधारका बारेमा सामान्य जानकारी लिने उद्देश्यले नेपाल प्रहरीको साइबर ब्युरोले केही सञ्चारकर्मीहरूलाई कार्यालयमा बोलाएको कार्य प्रहरीको कार्यसम्पादनअन्तर्गतको सही मनसाय हो,’ विज्ञप्तिमा भनिएको छ।
प्रहरीले सुरक्षित समाज निर्माणका लागि सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षाप्रति आफू प्रतिबद्ध रहेको पनि जनाएको छ।


