
बारा | बाराको कोल्हबीमा करेन्ट लागेर एक जना १० वर्षीय बालकको ज्यान गएको छ भने अन्य चार जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृत्यु हुनेमा कोल्हबी नगरपालिका वडा नम्बर ३ जुगुवाका १० वर्षीय बालक आकाश राम रहेका छन्। घरमा टिभी चलाउने क्रममा बिजुलीको तार सर्ट भई उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ। करेन्ट लागेलगत्तै बालकलाई उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
यसैगरी बालकलाई करेन्ट लागेको देखेपछि बचाउन गएका अन्य चार जना घाइते भएका छन्। घाइते हुनेहरूमा मृतककी ७० वर्षीया हजुरआमा एतबरिया राम, १२ वर्षीया दिदी निलम राम तथा स्थानीयवासी फुलकुमारी राम र ४१ वर्षीया अनिता शर्मा रहेका छन्।
बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार घाइते सबैको कोल्हबीस्थित तामागढी अस्पतालमा उपचार भइरहेको छ।