
वीरगंज | राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसम पूर्वानुमान महाशाखाको विशेष मौसमी बुलेटिनमा गण्डकी प्रदेश भारी वर्षाको सूचीमा परेपछि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले आइतबारसम्म विदेशी पर्यटकका लागि प्रवेशाज्ञा (परमिट) रोक्ने निर्णय गरेको छ।
अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमणमा जाने विदेशी पर्यटकलाई मौसमका कारण समस्या नहोस् भन्ने उद्देश्यले आइतबारसम्म प्रवेशाज्ञा रोकिएको एक्याप इलाका कार्यालय लोमन्थाङका प्रमुख उमेश पौडेलले बताउनुभयो।
पदयात्रा तथा पर्यटकीयस्थलमा वर्षाका कारण हिमपात, भूक्षय, बाढी तथा पहिरोको जोखिम हुनसक्ने भएकाले आइतबारसम्म सतर्कता अपनाउन प्रवेशाज्ञा लिन आउने तथा पदमार्गमा रहेका पर्यटकलाई समेत सचेत गराइएको पौडेलले बताउनुभयो।
एक्यापले प्रवेशाज्ञाबापत सार्क राष्ट्रका पर्यटकबाट एक हजार रुपियाँ र तेस्रो मुलुकका पर्यटकबाट तीन हजार रुपियाँ शुल्क लिने गरेको छ। सात हजार छ सय वर्ग किलोमिटर क्षेत्रमा फैलिएको एक्यापअन्तर्गत मुस्ताङ, म्याग्दी, कास्की, लमजुङ र मनाङका १६ स्थानीय तहका ८९ वडा पर्छन्।
एक्यापका चेकपोस्टबाट स्वदेशी पर्यटकलाई समेत मौसमका कारण पदमार्गको अवस्था र सम्भावित जोखिमबारे जानकारी गराउने गरिएको छ।
बाढीपहिरो तथा हिमपातका कारण मुस्ताङ र मनाङ जोड्ने सरिबुङ पास, मोसोकुन्दो पास, थोराङ्ला पास, मुस्ताङ–डोल्पा जोड्ने याकखर्क, म्याग्दी–मुस्ताङ जोड्ने धौलागिरि पदमार्गको धम्पुस पिक, उपल्लो मुस्ताङ, अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल तथा म्याग्दीको घोडेपानीलगायत छोटो, मध्यम र लामो दूरीका पदयात्रामा रहेका पर्यटकको सुरक्षालाई ध्यानमा राखिएको एक्यापले जनाएको छ।
जिल्ला सुरक्षा समिति मुस्ताङले जिल्लामा प्रवेश गर्ने तथा बाहिरिने पर्यटकलाई समेत यात्रा गर्नुअघि मौसम तथा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गर्दै आएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार हालसम्म पर्यटकीयस्थल तथा पदमार्गमा रहेका पर्यटकको अवस्था सामान्य रहेको छ।