
वीरगंज | मनाङमा बुधबारदेखि भइरहेको निरन्तर वर्षासँगै शुक्रबार बिहानदेखि हिउँ पर्न थालेको छ। शुक्रबार बिहान ७ बजेदेखि जिल्लाको उच्च क्षेत्र माथिल्लो मनाङमा हिउँ परेको हो।
अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार हिउँ परेपछि जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी ट्राभल एड्भाइजरी जारी गरिएको छ। यात्रामा रहेका पर्यटकलाई सुरक्षित स्थानमा बस्न र तत्काल यात्रा नगर्न आग्रह गरिएको उहाँले बताउनुभयो।
पर्यटक सूचना केन्द्र धरापानी चेकपोस्टका अनुसार असोज १ देखि ८ गतेसम्म ९८८ जना पर्यटक मनाङ प्रवेश गरेका छन्। तीमध्ये २३४ जना फर्किसकेका छन्। बाँकी पर्यटकलाई पनि मौसमको अवस्था हेरेर सुरक्षित रहन आग्रह गरिएको छ।
यसैबिच, निरन्तर वर्षाका कारण मर्स्याङ्दी नदीमा जलस्तर बढेको छ। जिल्ला प्रशासन कार्यालय मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले नदीको जलस्तर बढेपछि जोखिमयुक्त क्षेत्रमा माइकिङ गरी स्थानीयवासीलाई सचेत गराइएको बताउनुभयो।
उहाँका अनुसार सम्भावित विपद्लाई ध्यानमा राख्दै विपद् व्यवस्थापन टोलीलाई तयारी अवस्थामा राखिएको छ। सदरमुकाम चामे तथा मर्स्याङ्दी नदीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गर्दै माइकिङ गरिएको छ।
लगातारको वर्षा र हिमपातका कारण मनाङका सडक तथा पदमार्गमा यात्रा जोखिमपूर्ण हुनसक्ने भएकाले पर्यटक तथा स्थानीयवासीलाई मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न प्रशासनले आग्रह गरेको छ।