
वीरगंज | गुल्मीमा जंगली जनावर धपाउन छोडिएको करेन्टमा परेर एक जनाको मृत्यु भएको छ ।
मदाने गाउँपालिका-१ ओख्लेदहमा सन्तबहादुर बिष्टले बारीमा नांगो तारमा करेन्ट लगाएका थिए । सोही करेन्टमा परेर वडानम्बर-४ की ४८ वर्षीया डालकुमारी खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र विश्वकर्माले जानकारी दिए ।
खत्री नातीसहित भतिजीको घर ओख्लेदह गएकी थिइन् । खत्री सम्पर्कविहीन भएकी थिइन् । खोजी कार्यका लागि उनको घरपरिवारले प्रहरीमा खबर गरेका थिए । खोज्ने क्रममा करेन्टमा परेको भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलमा मुचुल्का उठाएर शव पोष्मार्टमका लागि गुल्मी अस्पताल पठाएको छ । बारीमा करेन्ट छोड्ने सन्तबहादुर बिष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।