
वीरगंज | उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका – ४ नामरुङस्थित थेराङ खोलामा आएको बाढीबाट पुर्णरुपमा घर क्षति भएका चार परिवारलाई तत्काल गृह मन्त्रालयले हेलिकप्टरबाट राहत सामग्री पठाएको छ । बाढीका कारण घरमा क्षति पुगेपछि समस्यामा परेका पीडितहरुलाई गृहमन्त्री सुधन गुरुङको पहलमा खाद्यान्नसहित राहत उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष निमा लामाले बताउनुभयो ।
बाढी पीडितहरुलाई टेन्ट, म्याट्रेस, कम्बल, त्रिपाल, स्लीपिङ ब्याग, ब्लाङकेट लगायतका सामग्री हेलिकप्टरमा पठाएर सहयोग गरेको चुमनुब्रीका स्थानीय तथा पर्यटन व्यवसायी धावा ग्याल्जेजन लामाले जानकारी दिनुभयो । आइतबार मात्र गाउँपालिका र वडा कार्यालयले बाढी पीडितहरुमा आर्केन छोटेन लामा, लाक्पा भुटीलामा, नुर्बु वाङ्ग्याल लामा र छिरिङ वाङदी लामालाई चामाल, तेल, नुन, चाउचाउ, बिस्कुट, मसला, चिनी लगाएत आवश्याक खाद्य सामग्री बितरण गरेको थियो ।
घर पूर्णरुपमा क्षति भएका चार परिवारलाई तत्कालका लागि वडा नम्बर ४ का वडा सदस्य फुपू ठिले लामाको होटेलमा अस्थायी बसोबासको व्यवस्था मिलाईएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले जानकारी दिनुभयो । एक्कासी आएको बाढीले मनास्लु – लार्के पास पदमार्गसमेत अवरुद्ध भएपछि स्थानीयबासी तथा पदयात्रीलाई आवतजावतमा समस्या भएको छ । पदमार्ग अवरुद्ध हुँदा दैनिक आवतजावत तथा पर्यटन गतिविधिमा समेत असर गरेको छ ।
गाउँपालिका – ४ का वडा अध्यक्ष पेमा ग्याल्पो लामाको नेतृत्वमा अवरुद्ध पदमार्गको स्थलगत अध्यन समेत गरिएको छ । अध्ययनपछि सुक्सम झोलुङ्गे पुल खण्डमा वैकल्पिक बाटो निर्माण गरी आवतजावतमा सहज बनाउने तयारी गरिएको छ । वैकल्पिक बाटो खोल्ने काम सोमबारदेखि सुरु गरिने वडा अध्यक्ष पेमा ग्याल्पो लामाको भनाइ छ ।
बाढीबाट प्रभावित परिवारलाई थप राहत तथा सुरक्षित बसोबासको आवश्यकता रहेकाले स्थानीय तहले निरन्तर समन्वय र सहयोग गर्ने गाउँपालिकाले जनाएको छ ।