
वीरगंज | नेपाली कम्युनिष्ट पार्टीकी नेत्री पम्फा भुसालले पार्टीभित्र बनेका अत्यधिक ठूला ‘जम्बो’ कमिटीप्रति असन्तुष्टि जनाएकी छन्।
पार्टीको कोशी प्रदेश समितिले शनिबार आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा उनले जम्बो समितिले कम्युनिष्ट पार्टीलाई बलिलो बनाउन नसक्ने बताएकी हुन्। उनले दजनौँ पार्टी मिलाएर ठूलो कमिटी भएको नेपाली कम्युनिष्ट पार्टी बनाउँदा पनि निर्वाचनमा सफलता हासिल गर्न नसकेको बताइन्।
मङ्सिरमा हुने महाधिवेशनबाट चुस्त–दुरुस्त कम्युनिस्ट पार्टी निर्माण गर्नुपर्ने उनको भनाइ छ। पार्टीका समितिहरू अत्यधिक ठूलो बन्दै जाँदा सदस्यबीच प्रभावकारी संवाद हुन नसकेकोले उनले बताइन्। केन्द्रीय समितिसहित तल्ला तहका कमिटीहरूमा सदस्य संख्या बढाउँदै लैजाने प्रवृत्तिले कम्युनिस्ट पार्टीको संगठनात्मक चरित्र नै कमजोर बनेको उनको भनाइ छ।
उनले पार्टी नेताहरूमा पनि पछिल्लो समय पदको मोह बढ्दै गएको आरोप लगाइन्। पद प्राप्ति र पद मोहका कारण कम्युनिस्ट आन्दोलन विघटनउन्मुख अवस्था पुगेको उनको भनाइ छ।
उनले महाविधेशनका लागि आवश्यक साङ्गठनिक एकता तल पार्टी सदस्यसम्म पुर्याउने, पार्टी सदस्यता नवीकरण गर्नेलगायतका कार्यमा पनि ढिलाइ भएको बताइन्।
उनले पछिल्लो राष्ट्र सबैभन्दा बढी संकटमा परेको बताइन्। राष्ट्रिय स्वाधीनता, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा गर्दै रक्षात्मक अवस्थामा पुगेको कम्युनिस्ट आन्दोलनलाई पनि सुदृढ बनाउनुपर्ने अवस्था आएको उनको भनाइ छ। वाम आन्दोलनलाई केन्द्रित गर्दै कम्युनिस्ट एकताको अभियान अघि बढाउनुपर्नेमा उनले जोड दिइन्।
