
वीरगंज | बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भदौ ८ गते विश्वासको मत लिने भएका छन्।
नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा मुख्यमन्त्री बनेका थापाले भदौ ८ गते सोमबार विश्वासको मत लिन लागेका हुन्।
मुख्यमन्त्री थापाले यसअघि भदौ ७ गतेका लागि विश्वासको मत लिने तयारीअनुसार प्रदेशसभा सचिवालयलाई पत्राचार गरेका थिए। तर, मुख्यमन्त्री थापाको संशोधित पत्रअनुसार प्रदेश सभा सचिवालयले भदौ ८ गते विश्वासको मत लिन प्रदेशसभा बैठक आह्वान गरेको छ।
भदौ ८ गते दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिनेसम्बन्धी कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।
मुख्यमन्त्री थापाका अनुसार गृह जिल्ला जाने कार्यक्रम तय भएको र अन्य दलहरूको सुझावअनुसार मिति सारिएको हो। आइतबार कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर विश्वासको मतसम्बन्धी प्रक्रिया टुंग्याउने र सोमबार मत विभाजनसहितको प्रक्रिया अघि बढाइने उनको भनाइ छ।
नेपालको संविधानको धारा १६८ को २ बमोजिमको सरकारका लागि भदौ ३ गते दाबी पेश गरेका थापा भदौ ४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
