
वीरगंज | हरि खेतान बहुमुखी कलेजमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। कलेजले शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो।
कलेज प्रमुख किशोरी रायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलेज सञ्चालक समितिका अध्यक्ष डा. राम औतार खेतान प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा सञ्चालक समितिका उपाध्यक्ष हरि गौतम, सञ्चालक समितिका सल्लाहकार जयप्रकाश खेतान, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालित बीबीएस (Bachelor of Business Studies) परीक्षामा नेपालभर तेस्रो स्थान हासिल गर्न सफल कलेजकी छात्रा अञ्जली कुमारी गुप्तालाई विशेष सम्मान गरिएको थियो। उनलाई नगद ११ हजार रुपैयाँको चेकसहित प्रमाणपत्र, माला, खादा, टीका तथा मायाको चिनो प्रदान गरिएको थियो।
अञ्जलीले बीबीएस परीक्षामा नेपालभर तेस्रो स्थान हासिल गर्दै कलेजको शैक्षिक उपलब्धिलाई थप उचाइमा पुर्याएकी हुन्। कलेज प्रमुख किशोरी रायका अनुसार नेपालभर रहेका ५५६ वटा कलेजमध्ये हरि खेतान बहुमुखी कलेजले यस वर्ष बीबीएस परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै नेपालमै प्रथम स्थान कायम गर्न सफल भएको छ।
त्यसैगरी, वीरगञ्जस्थित हरि खेतान बहुमुखी कलेजका विद्यार्थी अमित कुमार बर्णवाललाई पनि उत्कृष्ट उपलब्धिका लागि सम्मान गरिएको छ। उनले यस वर्षको इन्स्टिच्युट अफ इन्जिनियरिङ (IOE) प्रवेश परीक्षामा पहिलो प्रयासमै २१७औँ रैंक हासिल गर्दै पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भएका हुन्। उनलाई नगद ५ हजार १ सय रुपैयाँको चेक, प्रमाणपत्र, खादा तथा टीका लगाएर सम्मान गरिएको थियो।
कार्यक्रममा लायन्स क्लबद्वारा आयोजित म्याराथनमा चौथो स्थान हासिल गर्न सफल सुशिला कुमारी तात्वालाई पनि प्रमाणपत्र, खादा तथा टीका लगाएर सम्मान गरिएको थियो। त्यस्तै,तेस्रो स्थान हासिल गरेकी आशा कुमारी साहलाई समेत सम्मान गरिएको थियो।
कार्यक्रममा बोल्दै कलेजका पदाधिकारीहरूले विद्यार्थीहरूको मेहनत, लगनशीलता र उपलब्धिले कलेजको शैक्षिक पहिचानलाई थप मजबुत बनाएको बताउँदै आगामी दिनमा पनि विद्यार्थीको प्रतिभा र क्षमतालाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
कलेज सञ्चालक समितिका सल्लाहकार जयप्रकाश खेतानले विद्यार्थीहरूको सफलताले संस्था मात्र नभई वीरगञ्जकै शैक्षिक क्षेत्रको प्रतिष्ठा बढाएको उल्लेख गर्दै उत्कृष्ट विद्यार्थीलाई निरन्तर प्रोत्साहन र सहयोग गरिने बताउनुभयो।
कार्यक्रममा सम्मानित विद्यार्थीहरूले प्राप्त उपलब्धिप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा अझ मेहनत गरेर उत्कृष्ट नतिजा हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रमले विद्यार्थीमा अध्ययन तथा अतिरिक्त क्रियाकलापप्रति थप उत्साह र प्रेरणा प्रदान गरेको आयोजकले जनाएको छ।
