
वीरगंज | युक्रेनमाथि रुसले लगातार हवाई आक्रमण जारी राखेको छ। यो पटक-पटकको आक्रमणमा परी कम्तिमा १८ जनाको मृत्यु भएको जनाइएको छ।
स्थानीय अधिकारीहरूले शनिबार बिहान पनि आक्रमण भएको थियो। यो आक्रमणमा २ जनाको मृत्यु भएको छ। यसअघि युक्रेनको एउटा सपिङ महलमा भएको घातक ड्रोन आक्रमणमा १६ जनाको मृत्य भएको थियो। यो आक्रमणमा अझै ९ जना बेपत्ता रहेको जनाइएको छ।
स्थानीय अधिकारीहरूका अनुसार, राजधानी किभमा ब्यालेस्टिक मिसाइल आक्रमणको चेतावनीपछि एउटा गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु भयो। त्यस्तै, दक्षिणी शहर जापोरिज्झियामा रुसी ड्रोन आक्रमणमा एक पुरुषको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
यी आक्रमणहरू शुक्रबार युक्रेनको मध्यभागमा रहेको क्रिभी रिह शहरको व्यस्त सपिङ मलमा भएको घातक रुसी ड्रोन आक्रमणलगत्तै भएका हुन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो गृहनगरमा भएको उक्त दिनदहाडैको आक्रमणलाई पूर्ण रूपमा निर्दयी र घृणित भन्दै रुसले दुई चरणमा आक्रमण गरेको बताए।
पहिलो आक्रमणपछि घटनास्थलमा उद्धारका लागि पुगेका आपत्कालीन सेवाका कर्मचारीहरूलाई लक्षित गर्दै दोस्रो पटक आक्रमण गरिएको थियो। बीबीसीका अनुसार सपिङ महलमा आगलागी भइरहेका बेला दोस्रो ड्रोनले पुनः प्रहार हुँदा धेरै हताहती भएको जनाइएको छ।
युक्रेनको ड्निप्रोपेत्रोभ्स्क क्षेत्रमा रहेको उक्त शहरको सबैभन्दा ठूलो सपिङ महलमा भएको आक्रमणमा २३ बालबालिकासहित १३० जना घाइते भएका छन्। शनिबार बिहान भग्नावशेषबाट थप एक जनाको शव निकालिएसँगै मृत्यु हुनेको संख्या १६ पुगेको क्षेत्रीय प्रशासन प्रमुख ओलेक्सान्दर हान्झाले बताएका छन्।
उनका अनुसार सपिङ महलमा अझै दुई बालबालिकासहित ९ जना बेपत्ता छन्। भग्नावशेषमा थप मानिसहरू फसेको आशंका गरिएको छ। यसअघि १३० घाइतेमध्ये २९ जनाको अवस्था गम्भीर रहेको बताइएको थियो, जसका कारण मृतकको संख्या अझै बढ्न सक्ने जनाइएको छ।
बाँचेकाहरूको खोजीका लागि युक्रेनका अन्य चार क्षेत्रबाट उद्धार टोलीहरू तत्काल परिचालन गरिएको छ। क्रिभी रिहका मेयर ओलेक्सान्दर भिल्कुलले रुसी ड्रोनहरू अत्यन्त न्यून उचाइमा उडिरहेको बताएका छन्। उनले केही बेपत्ता व्यक्तिहरूसँग सम्पर्क हुन नसकेको पनि जानकारी दिए।
यसअघि शुक्रबार युक्रेनको दक्षिणी माइकोलाइभ क्षेत्रमा भएका छुट्टाछुट्टै रुसी आक्रमणमा तीन बालबालिकासहित चार जनाको मृत्यु भएको थियो। उत्तरपूर्वी खार्किभ क्षेत्रमा पनि दुई जनाको ज्यान गएको स्थानीय अधिकारीहरूले बताएका छन्। त्यसअघि बिहीबार किएभमाथि भएको ठूलो रुसी मिसाइल तथा ड्रोन आक्रमणमा १७ जनाको मृत्यु र ४० भन्दा बढी घाइते भएका थिए।
यसैबीच, युक्रेनी सेनाले शुक्रबार रुसभित्र गहिराइमा रहेको एउटा तेल प्रशोधन केन्द्र र सैन्य हवाई अड्डामाथि आक्रमण गरेको जनाएको छ। युक्रेनले पछिल्ला महिनाहरूमा रुसका ऊर्जा संरचनामाथि आक्रमण तीव्र बनाएको छ। किएभले यस्ता संरचनाले रुसको युद्धलाई आर्थिक रूपमा सहयोग पुर्याउने भएकाले तिनलाई वैध सैन्य निशाना मान्दै आएको छ।
यसअघि युक्रेनले पनि रुसको प्रसिद्ध सपिङ महलाम निरन्तर आक्रमण गरेको थियो।
