
वीरगंज | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश सिंहले छठ पर्व सकिएपछि रास्वपाका सांसदले मधेसमा जनताको कुटाइ खाने दिन आउने बताएका छन्।
पार्टी सभापति रवि लामिछानेको निर्देशनमा बुधबार बोलाइएको पार्टी, सांसद र मन्त्रीहरूको छलफलमा सर्लाही ४ का सांसद सिंहले यस्तो बताएका हुन्।सीमामा कडाइले मधेसीहरूको दैनिक जीवन गाह्रो हुँदै गएकोले अब झन् झन् समस्या आउन सक्ने उनले बताए।
‘मलाई एक हप्ता दिनुहोस् म सरकारका १ सय गल्ती निकालिदिन्छु,’ सिंहको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘मधेसमा त छठ पर्व सकिएपछि रास्वपाका सांसदले पिटाइ खाने दिन आउँदैछ।’
सीमा पारबाट सामान ल्याउन एक सय रुपैयाँ सम्मलाई भन्सार महसुल छुट दिइएको छ। तर त्योभन्दा बढीको सामान खरिद गर्नेहरूसँग भन्सार शुल्क लिन थालेको थियो। सरकारले यो व्यवस्थालाई कडाइ साथ लागु गरेपछि मधेसमा विरोध भएको थियो।सर्वोच्च अदालतमा यस सम्बन्धी रिट दायर भएपछि नागरिकलाई सम्मानजनक व्यवहार गर्न अन्तरिम आदेश जारी गरेको थियो।यो शुल्कले अप्ठ्यारो परेको भनेर व्यापक विरोध भएपछि सरकारले अहिले यसमा केही खुकुलो बनाएको छ।साभारःसेतोपाटी
