
वीरगंज | काठमाडौँ- मकवानपुरको भीमफेदी गाउँपालिका- ६, जुरिखेतमा भएको स्कोरपियो जीप दुर्घटनामा गम्भीर घाइते भएका ४ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको छ।
आज बिहान उच्च अदालत वीरगन्ज इजलासका मुख्य न्यायाधीशसहित ६ जना सवार प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कोरपियो जीप दुर्घटना भएको थियो।
गम्भीर घाइते भएका चार जनालाई नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरी उपचारका लागि काठमाडौँस्थित वीरेन्द्र अस्पताल, छाउनी ल्याइएको नेपाली सेनाले जानकारी दिएको छ।
दुर्घटनामा सामान्य घाइते भएका दुई जनालाई भीमफेदी अस्पताल पठाइएको छ।
दुर्घटनामा घाइते हुनेमा पर्साका मुख्य न्यायाधिश दाङको तुलसीपुर उपमहानगरपालिका- ९ का ५७ वर्षीय गोकर्ण डाँगी, रजिस्ट्रार बैतडीको दशरचन्द नगरपालिका- ७ सुर्काल बस्ने ५१ वर्षका तारादत्त बडु, बडुको श्रीमती ४९ वर्षीया लक्ष्मी बडु, २५ वर्षीय छोरा रितेन्द्र बडु, ३१ वर्षकी रिता बडु र गाडी चालक दाङको राप्ती नगरपालिका ८ बस्ने ३२ वर्षका छुनिलाल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
