
वीरगंज | नेकपा (एमाले)का नेता योगेश भट्टराईले देशमा विभिन्न राज्य संयन्त्रलाई कमजोर बनाउने र सामाजिक अराजकता सिर्जना गर्ने प्रयास भइरहेको दाबी गरेका छन्।
उनले संसद्, न्यायालय, सुरक्षा निकाय, कर्मचारीतन्त्र, प्रेस तथा परराष्ट्र सम्बन्धलाई प्रभावित बनाउने गतिविधिले नेपाललाई असफल राष्ट्रतर्फ धकेल्ने षड्यन्त्र हुन सक्ने आशंका व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले संसद्लाई बेकम्मा बनाउने, न्यायालयलाई कब्जा गर्ने, सेना र प्रहरीलाई लाचार बनाउने, कर्मचारीको हुर्मत लिने तथा प्रेसमाथि सेन्सरसिप लगाउने काम भइरहेको आरोप लगाए। उनले आफ्नै तथा अन्य राजनीतिक दललाई किनाराकृत गर्ने, व्यापारी तथा उद्योगीलाई लखेट्ने, परराष्ट्र सम्बन्धलाई लथालिङ्ग बनाउने, गरीब र सुकुम्बासीहरूको उठीबास लगाउने र कानुन तथा संविधानको धज्जी उडाउने प्रवृत्ति बढ्दै गएको उल्लेख गरेका छन्।
भट्टराईले धार्मिक तथा साम्प्रदायिक द्वन्द्वलाई समेत बढावा दिइएको दाबी गर्दै यस्ता गतिविधिले सामाजिक अराजकता र राज्य आतंकको अवस्था सिर्जना गर्न सक्ने बताएका छन्।
अन्त्यमा उनले ‘यसरी सामाजिक अराजकता र राज्यआतंकमार्फत नेपाललाई असफल राष्ट्र घोषित गर्ने षड्यन्त्र त हुँदैछैन ?’ भन्दै प्रश्न उठाएका छन्।
