
वीरगंज | खोटाङ र उदयपुर जोड्ने धाप्लाङघाट मोटरेबल पुल निर्माणको कामले तिव्रता लिएको छ ।
लामो समय अलपत्र परेको धाप्लाङघाटस्थित सुनकोशीमा निर्माणधीन रहेको मोटरेबल पुलले निर्माण हुने आशा जगाएको हो ।करिब नौ वर्षदेखि निर्माणधीन रहेको पुल अलपत्र हुँदा खोटाङको दक्षिणी क्षेत्रका नागरिक निरास भएका थिए ।
खोटाङको बाराहापोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने धाप्लाङघाटस्थित सुनकोशीमा दुई सय मिटर लामो पुल निर्माणका लागि २०७३ असार ३० गते सम्झौता भएको थियो ।
२०७४ भदौ ३१ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले पुल शिलान्यास गर्नुभएको थियो । २०७६ मा पुल निर्माण सम्पन्न गर्नु पर्ने सम्झौता भएपनि निर्माण कम्पनीको लापारबाहिको कारण पुल अलपत्र परेको थियो ।
अलपत्र परेको पुल निर्माणको लागि खोटाङ प्रदेश सभा ‘ख’ का सांसद एवं कोशी प्रदेश भौतिक पूर्वाधार विकास र स्वास्थ्य मन्त्री भूपेन्द्र राईले निरन्तर खबरदार गरेपछि अहिले पुल निर्माणले तिव्रता लिएको छ ।
२१ करोड ६५ लाख रुपियाँमा स्वच्छन्द–रसुवा–पप्पु जेभीले निर्माणको जिम्मा लिएको पुल अलपत्र परेपछि लिडपार्टी स्वच्छन्द निर्माण कम्पनीलाई कालो सूचीमा राखी धरौटी तानेपछि ज्वइन भेन्चरमा संलग्न रसुवा कन्स्ट्रक्सन प्रालिले काम थालेको मन्त्री राईले बताउनुभयो ।
निरन्तरको सङ्घर्ष पश्चात पुल निर्माणको कामलाई पुनः सुचारु गराउन सफल भएको उहाँको भनाइ छ ।सडक विभाग पुल सेक्टर धरानका इन्जिनियर नविन शाहका अनुसार हालसम्म ४३ प्रतिशत पुल निर्माणको काम सकिएको छ ।
वेल फाउण्डेसन प्रविधिको पुल निर्माण सुरु गरिएको धाप्लाङघाटमा गत वर्ष डिजाइन परिवर्तन गरी पाइल फाउण्डेसन प्रविधिको पुल निर्माण सुरु गरिएको शाहाको भनाइ छ । पुलको छ वटा पिलर निर्माण गर्नुपर्नेमा चार वटा सकिएको छ ।
तर, निर्माण भएको एउटा पिलर गर्त वर्षको सुनकोशीको बाढीले बङ्ग्याएर पुननिर्माण गर्नु पर्ने भएपछि अझै तीन वटा पिलर बनाउन बाँकी रहेको छ ।
पाँच वटा स्ल्याव बनाउनु पर्नेमा हालसम्म एउटा स्ल्याव सकिएको छ । अन्य स्ल्याव लगाउन पानी सुकाउने काम भइरहेको छ । पानी चाँडै सुकाउन सके यो वर्ष थप दुई वटा स्ल्याव सकिने इन्जिनियर शाहाले बताउनुभयो ।
पछिल्लो पटक थपिएको म्याद अनुसार २०८४ जेठ १९ गतेसम्ममा पुल निर्माणको काम सम्पन्न गर्नु पर्छ । ०८३ चैत महिना भित्रमा धाप्लाङघाटबाट सावारी साधन वारपार गराउने गरी काम भइरहेको उहाँको भनाइ छ ।
धाप्लाङघाटमा खोटाङ र उदयपुर दुवैतर्फ वर्षौँअघि कच्ची सडक खनिएको छ । तर पक्की पुल नहुँदा गाडी वारपार गर्ने अवस्था छैन् । मोटरसाइकल झोलुङ्गे पुलबाट वारपार गर्ने गरेको छ ।
पूर्वी शहरसँग जोडिन धाप्लाङघाटमा पुल निर्माण भएपछि खोटाङको बराहपोखरी, जन्तेढुंगा र खोटेहाङ गाउँपालिका र भोजपुरका केही स्थानीयको जीवनशैलि फेरिने आशा गरिएको छ ।
पुल नबन्दा नाकाबन्दीमा बस्न बाध्य भएको बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले बताउनुभयो । पालिकामा बाहिरबाट ल्याउने सामान ढुवानी महङगोहुँदा मुल्य महङगो भएको र स्थानीय उत्पादनलाई पनि बाहिर निर्यात गर्न कठीन भएको उहाँको भनाइ छ ।
