काठमाडौं । काठमाडौँ महानगरपालिकाको राजस्व परामर्श समितिको बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब २५ अर्ब ११ करोड रुपैयाँको बजेट सीमा निर्धारण गरेको छ।
महानगर प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा काठमाडौँ प्लाजास्थित महानगरको कार्यालयमा बसेको बैठकले यो निर्णय गरेको हो। बैठकमा प्रमुख शाहले जनचाहना अनुरूप विकासका कार्य गर्न पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिएका थिए। यसअनुसार, समितिले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट बढाउने निर्णय पनि गरेको छ।
केही बेरमै बस्ने ४०औँ नगर कार्यपालिका बैठकले नगर सभाको मिति तय गर्नेछ, जसपश्चात् नगर सभामार्फत बजेट सार्वजनिक गरिनेछ। नगर सभा बैठकमा प्रमुख बालेन्द्र शाहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् भने उपप्रमुख सुनिता डंगोलले बजेट पेस गर्नेछिन्। आजको राजस्व परामर्श समितिको बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँईको पनि उपस्थिति थियो।