काठमाडौं । वैदेशिक रोजगार व्यवसायी समाजका प्रथम उपाध्यक्ष अख्तर हुसेनले मूलपत्र डटकमका समाचार संयोजक रमेश भारतीलाई प्रकाशित समाचार हटाउन धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण गरेको छ ।
मूलपत्र डटकमले ‘संघका अध्यक्ष गुरुङ नै मानव तस्करीमा, बुल्गेरिया पठाउँछु भन्दै २ युवतीसँग साढे २९ लाख ठगी’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । सोही समाचारलाई लिएर उपाध्यक्ष हुसेनले भारतीलाई धम्की दिएको र सामाजिक सञ्जालमा अनलाइनविरुद्ध फेसबुक पेज रिपोर्ट तथा सामाजिक वहिष्कारको अभियान समेत चलाएको महासंघ उपत्यका प्रदेश समितिले जनाएको छ ।
यस प्रकारको धम्की र मिडिया विरुद्धको अभियानलाई महासंघले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र निन्दनीय कार्यको रुपमा लिएको छ । महासंघले घटनाको छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायलाई विशेष ध्यान दिन अनुरोध गरेको छ ।