वीरगंज | वीरगंज महानगरपालिकामा देखिएको गम्भीर खानेपानी समस्या समाधानका लागि आज मिति २०८२ साल असार २६ गते, बिहीबार वीरगंज महानगर प्रमुख राजेशमान सिंहको अध्यक्षतामा सर्वदलीय बैठक सम्पन्न भएको छ।
बैठकमा पर्सा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
बैठकमा पर्सा–१ बाट प्रतिनिधिसभा सदस्य तथा खानेपानी मन्त्रीले वीरगंज मात्र नभई सम्पूर्ण तराई–मधेस क्षेत्रमा देखिएको खानेपानी समस्या समाधानका लागि स्थानीय तहसँग सहकार्य, स्रोतको प्रभावकारी परिचालन तथा दीर्घकालीन योजना र रणनीति निर्माणमा निरन्तर पहल भइरहेको जानकारी गराए।
मन्त्रीले वीरगंजको खानेपानी समस्या छिटोभन्दा छिटो समाधान गर्न तुरुन्तै आवश्यक कदम चालिने र दीर्घकालीन रूपमा स्थायी समाधान सुनिश्चित गरिने स्पष्ट प्रतिबद्धता व्यक्त गरे।
त्यस्तै, समस्याको समाधानमा सबै पक्षहरूको सहकार्य, हातेमालो तथा एकताको आवश्यकता रहेको भन्दै सम्पूर्ण सरोकारवाला निकाय र जनसमुदायलाई सक्रिय सहयोगका लागि आग्रहसमेत गरिएको छ।