वीरागंज । तराई–मधेस क्षेत्रमा जलवायु परिवर्तनको प्रतिकूल प्रभावस्वरूप परेको खडेरीका कारण स्थानीय बासिन्दा गम्भीर खानेपानी अभाव र कठिनाइ भोग्न बाध्य भएका छन्।
यस समस्याको वास्तविक अवस्था बुझ्न तथा समाधानका उपाय अवलम्बन गर्न खानेपानी मन्त्री माननीय प्रदिप यादव विगत तीन दिनदेखि पर्सा जिल्लाका विभिन्न प्रभावित क्षेत्रहरूको निरन्तर अनुगमन तथा निरीक्षणमा जुटिरहनुभएको छ।
आज मन्त्री यादवले वीरगञ्ज महानगरपालिका वडा नं. २ अन्तर्गत छपकैयाँ, घुसुकपुर लगायतका क्षेत्रहरूमा बिहानैदेखि स्थलगत अवलोकन गर्नुभयो। उहाँले स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै यहाँको गम्भीर पानी संकटबारे विस्तृत जानकारी लिनुभयो।
मन्त्री यादवले तत्काल समस्या समाधानका लागि सम्बन्धित सरोकारवालाहरूसँग आवश्यक छलफल सुरु भइसकेको जानकारी दिनुभयो। साथै, दीर्घकालीन रूपमा पनि समाधान सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो।
उहाँले स्रोत परिचालन, दीर्घकालीन योजना निर्माण तथा रणनीति तय गर्ने कार्यमा स्थानीय तहसँग सहकार्य गर्दै निरन्तर पहल जारी राख्ने स्पष्ट पार्नुभयो।
मन्त्री यादवले संकटको यस घडीमा जनताको साथमा रहेको र सधैं साथमा रहने प्रतिबद्धता पनि जनाउनुभयो।