बीरगञ्ज | बीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा नेपाल सरकारका खानेपानी मन्त्री माननीय प्रदिप यादवज्यूको सम्मानमा आयोजित स्वागत, छलफल तथा अन्तरक्रिया कार्यक्रम बीरगञ्जको दियालु लर्ड्समा सम्पन्न भएको छ।
कार्यक्रममा सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूले बीरगञ्ज क्षेत्रमा देखिएको खानेपानी अभावका समस्याप्रति मन्त्रीज्यूको ध्यानाकर्षण गराउनुभएको थियो। उहाँले समस्याको तत्कालीन तथा दीर्घकालीन समाधानका लागि सरकारबाट आवश्यक पहलको माग गर्नुभयो।
सङ्घका वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यूले दीर्घकालीन रुपमा खानेपानी समस्या समाधानका लागि आवश्यक नीति तथा योजना निर्माणमा जोड दिनुभएको थियो।
कार्यक्रममा सङ्घका निवर्तमान अध्यक्ष श्री अनिलकुमार अग्रवालज्यू, महासचिव श्री शिवजी प्रसाद शाहज्यू, कोषाध्यक्ष श्री अनुज रुँगटाज्यू, सहसचिव श्री नरेश टिबडेवालज्यू, तथा कार्यसमिति सदस्यहरू श्री दिपक टिवडेवालज्यू, श्री पन्नालाल साहज्यू, श्री अजय प्रजापतीज्यू, श्री प्रकाश खण्डेलवालज्यू, श्री मनोज शर्माज्यू र श्री गोविन्द शाहज्यूले उद्योग, व्यापार तथा स्थानीय विकाससँग सम्बन्धित विभिन्न मुद्दामा आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो।
उक्त अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले बीरगञ्ज लगायत यस क्षेत्रका नागरिकलाई सहज र सुरक्षित खानेपानी उपलब्ध गराउने विषयमा सहकार्य र पहलका लागि सकारात्मक सन्देश प्राप्त भएको बताएका छन्।