वीरगंज | वीरगंज महानगरपालिकामा आज खानेपानी समस्या समाधानका लागि एक महत्वपूर्ण बैठक सम्पन्न भएको छ। वीरगंज महानगरपालिकाका नगरप्रमुख, कर्मचारी, नेपाल खानेपानी संस्थानका पर्सा र बारा जिल्लाका प्रमुखहरूको सक्रिय सहभागिता रहेको उक्त बैठकमा वीरगंजको खानेपानी समस्या समाधानका उपायबारे घनिभूत छलफल गरिएको छ।
बैठकमा पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य तथा संघीय खानेपानी मन्त्रीको रूपमा उपस्थित मन्त्रीले वीरगंजसहित तराई–मधेस क्षेत्रमा देखिएको खानेपानीको समस्याप्रति गहिरो चिन्ता व्यक्त गर्दै तत्काल समाधानका लागि सक्रिय पहल भइरहेको जानकारी दिनुभयो।
मन्त्रीले जनताले भोगिरहेको पानीको अभावप्रति गहिरो पीडा महसुस गर्दै यस समस्याको समाधान गरेरै छाड्ने दृढ प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँका अनुसार, खानेपानीको वर्तमान संकट विशेषगरी जलवायु परिवर्तनका कारण तराई–मधेस क्षेत्रमा परेको खडेरीसँग जोडिएको छ।
स्थानीय तह, सम्बन्धित निकाय र संघीय सरकारबीचको समन्वयमा समस्या समाधानका लागि तिव्र प्रयास भइरहेको मन्त्रीले बताउनुभयो। जनताको अत्यावश्यक आवश्यकता पूरा गर्न कुनै कसर बाँकी नराखिने उल्लेख गर्दै उहाँले सरकारको तर्फबाट भइरहेको तिव्र पहलबारे उपस्थित सबैलाई जानकारी गराउनुभएको थियो।
बैठकमा आगामी दिनमा तत्काल राहतका कार्यक्रम सञ्चालन गर्ने, दीर्घकालीन समाधानका लागि थप स्रोतको खोजी गर्ने तथा प्रविधि र पूर्वाधार सुधार गर्ने विषयमा सहमति जुटाइएको छ।
खानेपानीको समस्याबाट पिडित वीरगंजबासीका लागि यो बैठक महत्वपूर्ण र आशालाग्दो पहलको रूपमा हेरिएको छ।