वीरगन्ज | वीरगन्ज शहरको लाइफ लाइनका रुपमा रहेको सिर्सिया नदीको प्रदुषण नियन्त्रणका लागि नदी प्रदुष्ण गर्ने उद्योगसंगै स्थानीय निकायका जनप्रतिनिधि,सुरक्षा निकायका प्रमुख र सरोकारवालाहरुले सामुहिक रुपमा लिखित प्रतिबद्धता जनाएका छन् ।
मधेस प्रदेशको उद्योग,वाणिज्य तथा पर्यटन मन्त्रालयको उद्योग विभागले वीरगन्जमा मंगलबार आयोजना गरेको कार्यक्रममा उनिहरुले तीन दशकदेखि प्रदुषणको सिकार बनेको सिर्सिया नदीलाई प्रदुषणमुक्त बनाउनका लागि सामुहिक रुपमा हस्ताक्षर गर्दै लिखित प्रतिबद्धता जनाएका हुन् ।
त्यसअघि कार्यक्रमाका प्रमुख अतिथी समेत रहेका वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले सिर्सिया नदी प्रदुषण गर्ने उद्योगहरुलाई महानगरले आर्थिक जरिवाना गर्दासमेत नटेरेको अवस्था रहेको बताए । उनले भने,‘ यस्ता प्रतिबद्धता यसअघिपनि धेरै भइसक्यो । तर कार्यान्वयन भएको छैन । नदीलाई प्रदुष्णमुक्त गराउने अभियान महानगरले निरन्तर गर्दै आइरहेको छ । तर अवस्था जस्तोको त्यस्तै छ । मेरो उर्जा मरिसकेको छ ।’
अब प्रतिबद्धता भन्दा नेपालको कानुनमा उल्लेख दण्डात्मक विधि नै अपनाउन आवश्यक भइसकेको उनले बताए । त्यसका लागि स्थानीय प्रशासन निर्मम भएर अगाडि बढनुपर्नेमा उनले जोड दिए । वीरगन्ज महानगरका मेयर सिंहले सिर्सिया नदीको प्रदुषण नियनत्रणमा वीरगन्ज महानगरले थालेको अभियनमा बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले सहयोग नगरेको गुनासो पनि पोखे ।
नदीको प्रदुषणले छिमेकी मुलुक भारतको रक्सौलका जनतापनि प्रताडित हुदै आएको भन्दै उनले भने,‘ रक्सौलमा म जाँदा त्यहाँका नागरिक समाज र जनताले मलाई नै गाली गर्छन् । लज्जित पार्छन ।’
नदी प्रदुषित गर्ने मध्येका ५ वटा उद्योगलाई महानगरपालिकाले ३/३ लाखको दरले जरिवाना गरिसकेको र त्यति गर्दापनि अटेर गर्ने ३ वटा उद्योगहरुभित्रै फोहरको डङ्गुर लगेर फाल्दापनि अझै नदीको प्रदुषण नरोकिएको उनले बताए ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नदी प्रदुषण रोक्न अब अनुरोध होइन सिधै कानुनी दण्डात्मक कारबाही गरिने बताए ।नदीलाई प्रदुषित बनाउने उद्योगलाई अब छुट नदिइने उनले बताए । उनले भने,‘ अब अनुरोध र याचाना होइन , कानुन कार्यान्वयनमा हामी लाग्छौ ।’
अबको १५ दिनभित्र उद्योगहरुले उद्योगका फोहोर र प्रदुषित बानी प्रशोधनका लागि ‘वाटर ट्रिटमेन्ट प्लान्ट’ जडानका लागि काम थालेको अवस्था नभेटिएमा ती उद्योगहरु कारबाहीको भागिदार हुने चेतावनीसमेत उनले दिए ।
उनले भने,‘ अत्ती नै भइसक्यो । अब नो इफ नो बट ।हरेक उद्योगमा वाटर ट्रिटमेन्ट प्लान्ट छ कि छैन भनेर खोज्न पर्सा र बाराका दुवै सिडिओ हरेक उद्योगभित्रै छिर्छौ । कम्तिमा प्लान्ट जडानका लागि काम सुरु गरिएको समेत भेटिएन भने कानुनको डण्डा चलाइन्छ । त्यसका लागि तयार रहनुहोला।’ ।आर्थिक मन्दी वा अरु कुनै बहानामा नदीलाई प्रदुषित बनाएर जनताको स्वास्थ्यससंग खेलवाड गर्न नपाइने अर्यालले बताए ।
बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले पनि र्सििया नदीलाई प्रदुषण मुक्त बनाउने कुरा गरेको धेरै भइसकेको बताए । उनले भने,‘ अब अत्ति नै भइसक्यो । गफ धेरै भए । अब एक्शनमा जानै पर्छ । त्यसका लागि बाराको स्थानीय प्रशासन तयार छ ।’
नदी प्रदुषित गर्ने उद्योगहरुलाई कारबाही गर्ने अधिकार स्थानीय प्रशासनलाई नभएकोले उद्योगीहरुले अटेर गरिरहेको उनले बताए । तर कारबाहीको लागि सिफारिस गर्ने अधिकार भने आँफुहरुसंग रहेको स्मरण गराउँदै उनले भने,‘ नदी क्षेत्रमा पर्ने बारा र पर्साका तीन वटा स्थानीय सरकार छन् । ती स्थानीय सरकारले कानुन बनाइदिनुस् । त्ययसलाई कार्यान्वयनमा लैजान स्थानीय प्रशासन तयार छ । अब दण्डात्मक विधि अपनाउनै पर्छ ।’
कार्यक्रममा वीरगन्ज महानगरपालिकाको वातावरढा महाशाखाका प्रमुख ईन्जिनियर रोकश साहले बाराको रामवन जंगलको मुहान सुरु भई बाराको जितपुरसिमरा उपमहानगर, परवानीपुर, पर्साको वीरगन्ज महानगरसम्म पुगेको सिर्सिया नदी कोरिडोरमा १ सय २२ वटा उद्योगहरु रहेको जानकारी गराए । ती १ सय २२ मध्ये १ सय वटा उद्योगमा ‘वाटर ट्रिटमेन्ट प्लान्ट’ नै नभएको ,२१ वटामा उक्त प्लान्ट जडान भएको र ती २१ मध्ये ८ वटामा मात्रै प्लान्ट सञ्चालनमा रहेको उनले बताए । जडान भएका मध्येपनि ८ वटा उद्योगमा उक्त प्लान्ट सञ्चालनमा नल्याइएको उनले बताए ।
उनका अनुसार, २०६७ सालमा जिल्ल प्रशासन कार्याल पर्सायद्वारा गठित समितिले अनुगमनका क्रममा ४८ वटा उद्योगहरुले सिर्सिया नदीलाई प्रदुषित गरेको प्रतिवेदन तयार पारेको थियो । साहले भने,‘ त्यसबेला नदी प्रदुषित गर्ने ४८ वटा उद्योग थिए । अहिले त उद्योगहरु झन् थपिएका छन् । ती थपिएका उद्योगहरुलेपनि नदी प्रदुषित गरिरहेका छन् ।’
सिर्सिया नदीको प्रदुषण रोक्ने एकमात्र उपाय हरेक उद्योगमा ‘वाटर ट्रिटमेन्ट प्लान्ट’ जडान गरेर त्यसबाट उद्योगको रसायनयुक्त फोहोर पानी प्रशोधन गरेपछि मात्रै नदीमा छोड्नु पर्ने रहेको उनले बताए ।
कार्यक्रममा वीरगन्ज महानगरपालिकाका वातावरण निरीक्षक प्रकाश ऐरले सिर्सिया नदीमा अहिले मुुहानको पानी १० प्रतिशतमात्रै बगिरहेको बताए । बाँकी ९० प्रतिशत पानी उद्योगहरुले मिसाएको रसायनयुक्त र फोहोर पानी रहेको उनले बताए ।
कार्यक्रममा चाचान ग्रुपका प्रतिनिधी नवलकिशोर यादवले भने बाराको जीतपुरसिमरा उपमहानगर, परवानीपुर गाँउपालिका र पर्साको वीरगन्ज महानगरका ढल र नालाको पानीलेपनि सिर्सिया नदीको प्रदुषित भएको बताए । तर दोष जति उद्योगहरुमाथि मात्रै थोपर्ने काम भइरहेको उनको भनाई थियो ।
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले नदी कोरिडोरमा रहेका हरेक उद्योगले ‘वाटर ट्रिटमेन्ट प्लान्ट’ जडान गरेर सञ्चालनमा मात्रै ल्याइदिएपनि नदी प्रदुषणको ७५ प्रतिशत समस्या समाधान हुने बताए । संघका बरिष्ठ उपाध्यक्ष माधव राजपालले अधिकांश उद्योगले ‘वाटर ट्रिटमेन्ट प्लान्ट’ जडान गरिसकेको र केहि उद्योगहरुमा जडान गर्ने प्रकृया चलिरहेको जानकारी गराए ।
एभरेष्ट लेदर इण्डष्ट्रिजका प्रतिनिधीद विनोद चौधरीले कोरिडोरका १० छाला उद्योगमध्ये ६ वटा बन्द्य भइसकेको र हाल ४ वटा मात्रै सञ्चालनमा रहेको बताए । उनले भने,‘ नदीमा प्रदुषण गर्ने ९० प्रतिशत अरु नै छन् । तर सबको दोष केवल छाला उद्योगहरुमाथि थोपारिएको छ । हामीलाई बदानाम गराउने काम मात्र भइरहेको छ ।’
पर्सा–बारा औद्योगिक कोरिडोरका उद्योगहरुबाट उत्सर्जित हुने रसायनयुक्त प्रदुषित पानी र फोहोर पर्दाथ सिधै नदीमैं उत्सर्जन हुदै आएका कारण सिर्सिया नदी विगत ३ दशक यतादेखि प्रदुषित बनेको हो ।
छाला,डिस्टीलरी,टेक्सटाइल, घ्यू, साबुन लगायतका उद्योगहरुबाट निस्कने रसायनयुक्त पानी नदीमा बगाइन्छ ।जीवजन्तुका सडेगलेका छाला , रौं , खरानी , लेदो लगायतका विकारहरू प्रशोधन नगरी नदीमासिधै बगाउने र फालिन्छ । जसले गर्दा सिर्सिया नदीप्रदुषित र दुर्गन्धित बनेको हो ।
उद्योग विभागका महानिर्देशक सुशील साहको अध्यक्षतामा भएको कार्यक्रममा बाराको जीतपुरसिमरा उपमहानगरपालिकाा मेयर राजन पौडेल,वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण ,जीतपुरसिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा , विभागकी निर्देशक रिमा साह,प्रकृति सेवा प्रतिष्ठानका अध्यक्ष जसपाल सिंह, वीरगन्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई ,पर्सा र बाराका नेपाल प्रहरीका उपरीक्षक ,सशस्त्र प्रहरी उपरीक्षक, पर्सा र बाराका उद्योगपति लगायतकाको सहभागिता थियो ।