वीरगन्ज । नेपाल एक कृषि प्रधान देश हो । यहाँका अधिकांश मानिसहरूको जीवनयापनको आधार कृषि नै हो । नेपालीहरूको मुख्य बाली धान हो । धानबाट नै हामीले चामल, भात, चिउरा, ढिंडो लगायतका परिकार खाँदै आएका छौँ । नेपालमा धान खेतीलाई अझै प्रोत्साहित गर्न र कृषकहरूको मेहनतलाई सम्मान गर्न हरेक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवस का रूपमा मनाउने गरिन्छ ।
वि.सं. २०६२ सालदेखि औपचारिक रूपमा धान दिवस मनाउन थालिएको हो । यस दिनलाई रोपाइँ महोत्सव पनि भनिन्छ । असार महिनामा पानी प्रशस्त पर्ने भएकाले यही बेला खेतमा रोपाइँ गर्ने परम्परा छ । किसानहरू खेतमा रोपाइँ गर्दागर्दै रमाइलो गीत गाउने, आपसमा हिलो छ्यापाछ्याप गर्ने, दही चिउरा खाने चलन छ ।
असार १५ गते किसानहरूलाई उत्साह दिने मात्र होइन, धान उत्पादन वृद्धि गरी खाद्य सुरक्षालाई बलियो पार्ने उद्देश्य पनि यस दिवसको मुख्य पक्ष हो । हाम्रो देशमा धान खेतीबाट ठूलो मात्रामा आम्दानी हुने गर्छ । तर अहिले पनि पर्याप्त उत्पादन नभएकाले ठूलो परिमाणमा चामल विदेशबाट आयात गर्नुपरेको छ । त्यसैले राष्ट्रिय धान दिवसले सबैलाई देशमै धान उत्पादन वृद्धि गर्न हौस्याउँछ ।
धान दिवसले हामीलाई आफ्नो माटो र संस्कृतिप्रतिको माया झल्काउँछ । यस अवसरमा किसानहरूलाई प्रोत्साहनस्वरूप विभिन्न कार्यक्रम, प्रविधि प्रशिक्षण, बीउ वितरणजस्ता काम गरिन्छ । यसले कृषकहरूको जीवनस्तर उकास्न सहयोग पुर्याउँछ ।
यसैले हामी सबैले राष्ट्रिय धान दिवसलाई केवल उत्सवका रूपमा मात्र होइन, उत्पादन बढाउने प्रेरणा स्रोतका रूपमा लिनुपर्छ । यसले मुलुकको आत्मनिर्भरता, खाद्य सुरक्षा र कृषकहरूको सम्मानमा ठूलो टेवा पुर्याउँछ ।